राजकुमार ओली
बिर्तामोड, चैत ३० ।
झापाको बिर्तामोडमा नारी सञ्चार गृह झापाले नयाँ वर्ष २०८३ सालको क्यालेण्डर विमोचन गरेको छ। संस्थाले स्थापना कालदेखि पहिलोपटक क्यालेण्डर प्रकाशन गर्दै आज आयोजित एक कार्यक्रमका बीच त्यसको औपचारिक विमोचन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले कोभिड–१९ पछिको आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र प्रभावित बनेको बताउनुभयो। उहाँले विज्ञापन बजार खुम्चिँदै जाँदा सञ्चार संस्थाहरू आर्थिक संकटमा परेको र त्यसको प्रत्यक्ष असर महिला सञ्चारकर्मीहरूमा परेको उल्लेख गर्नुभयो। उहाँका अनुसार आम्दानी घट्दा रोजगारीको अस्थिरता बढेको छ र महिला सञ्चारकर्मीहरू पेशागत रूपमा थप असुरक्षित बन्न पुगेका छन्।
“आर्थिक संकटले सञ्चार क्षेत्रलाई चुनौतीपूर्ण बनाएको छ, यसले विशेषगरी महिला सञ्चारकर्मीहरूलाई बढी प्रभावित पारेको छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी अन्य सञ्चारकर्मीहरूले पनि सरकारको विज्ञापनसम्बन्धी नीतिले सञ्चार क्षेत्र थप दबाबमा परेको धारणा व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य राजकुमार ओली, झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का तथा फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीलगायतले वर्तमान अवस्थामा चुनौतीसँगै अवसर पनि रहेको उल्लेख गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याए।
उनीहरूले सञ्चार क्षेत्रको दीगो विकासका लागि राज्यले समानुपातिक विज्ञापन वितरण, श्रम सुरक्षा तथा पेशागत स्थायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
सोही अवसरमा सञ्चार तथा सामाजिक क्षेत्रमा विभिन्न चरणमा सहयोग पुर्याएको भन्दै इ क्यान झापाका उपाध्यक्ष तथा ब्रिज इन्टरनेसनलका सञ्चालक अशोक भण्डारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा महिला अधिकारकर्मीहरूले महिला सञ्चारकर्मीहरूको हकहित, क्षमता विकास तथा पेशागत सुदृढीकरणका लागि सहकार्य गर्न प्रतिबद्धता जनाएका छन्। एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, उद्योगी पार्वता खरेल बिमली तथा अधिकारकर्मी राधा सुब्बालगायतले महिला सशक्तीकरणसँगै सञ्चार क्षेत्रमा उनीहरूको सहभागिता अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जोसना श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन सचिव दीपा पोखरेलले गर्नुभएको थियो।



