राजकुमार ओली, २८ चैत्र (पूर्व खबर) — कोशी प्रदेश सरकारले दलित समुदायका अधिकार संरक्षण, न्यायमा पहुँच विस्तार तथा कानुनी सशक्तीकरणलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। सोही लक्ष्यअनुसार झापाको हल्दीबारी गाउँपालिकामा ४० जना दलित युवाहरूलाई लक्षित गरी दुई दिने कानुनी सचेतना तालिम सम्पन्न गरिएको छ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा संयक परामर्श केन्द्र इटहरीद्वारा आयोजित उक्त तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले दलित समुदायलाई कानुनी ज्ञानमार्फत सशक्त बनाउने दिशामा प्रदेश सरकार गम्भीरतापूर्वक लागिरहेको बताए। उनले कानुनी जानकारीको अभावका कारण धेरै नागरिक आफ्ना मौलिक अधिकारबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्तो अवस्था अन्त्य गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे।
“कानुनी सचेतना नै अधिकार उपयोगको पहिलो आधार हो,” उनले भने, “दलितलगायत पछाडि पारिएका समुदायलाई सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध छ।”
कार्यक्रमका अध्यक्ष उमेश कुमार थापाले पहिलो चरणमा मोरङको रंगेली, सुनसरीको देवानगञ्ज गाउँपालिका र झापाको हल्दीबारीमा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए। उनले आगामी आर्थिक वर्षदेखि अन्य स्थानीय तहहरूमा समेत बजेट विनियोजन गरी यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए।
संयक परामर्श केन्द्रकी कार्यक्रम संयोजक यज्ञ कुमारी रुचालका अनुसार संस्थाले दलित समुदायमा अधिकारप्रति जागरण ल्याउने र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लामा यस्ता तालिम सञ्चालन गर्दै आएको छ।
तालिममा सहभागीहरूले कानुनी अधिकार, न्यायिक प्रक्रिया, घरेलु हिंसा, भेदभाव तथा उजुरी दर्ता गर्ने प्रक्रियाबारे जानकारी प्राप्त गरेका थिए। अधिवक्ता बद्री प्रसाद पोखरेल र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले प्रशिक्षण प्रदान गर्दै कानुनी सहायता लिन सकिने माध्यम र प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए।
सहभागी अम्बिका लुङ्गेलीले शिक्षा र आर्थिक अभावका कारण दलित समुदायका धेरै सदस्यले आफ्नो अधिकारबारे जानकारी नपाउने गरेको बताइन्। “यस्ता तालिमले हामीलाई सचेत बनाउने मात्र होइन, आत्मविश्वास पनि बढाउँछ,” उनले भनिन्।
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंगदेनले स्थानीय तहले दलित अधिकार संरक्षण, समावेशी विकास तथा अपाङ्गमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। उपाध्यक्ष लक्ष्मी मैनालीले न्यायिक समितिमा आउने मुद्दामा दलित समुदायका सवाललाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाइन्।
तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट पाँच–पाँच जना दलित युवा, दलित जनप्रतिनिधि तथा अधिकारकर्मी गरी ४० जनाको सहभागिता रहेको थियो। सहभागी सुषमा महराले तालिमले आत्मबल बढाएको र समाजमा सचेतना फैलाउन प्रेरणा दिएको बताइन्। आफूहरूले कोशी प्रदेशका यी तीन पालिकामा काम सम्पन्न गरेपछि आउने आर्थिक वर्षबाट पुन कोशिका अन्य जिल्लाहरूमा अभियान सुरु गर्ने अभियानकर्मी सन्तोष रुचालले पूर्व खबरलाई बताए । कार्यक्रममा मन्त्री गौतमसहित हल्दीबारी का अध्यक्ष रविन्द्र लिंगदेन, उपाध्यक्ष लक्ष्मी मैनाली, कार्यकारी प्रमुख मानबहादुर वन, लगायत पाँचै वडाका वडाध्यक्षहरूले दलितहरुको विषयलाई आफूले गम्भीर रुपमा लिएको र पछि पारिएका समुदायलाई अगाडि लाने हल्दीबारी को अभियान पनि रहेको बताएका छन्।
दुई दिनसम्म सञ्चालन भएको तालिम सञ्चारकर्मी सन्तोष रुचालले सञ्चालन गरेका थिए। आयोजकका अनुसार कार्यक्रमले दलित युवाहरूलाई आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम बनाउने विश्वास लिइएको छ।



