भद्रपुर स्थित आन्तरिक राजस्व कार्यालय भद्रपुर ले लामो समयदेखि बक्यौता कर नतिर्ने करदाताविरुद्ध कडा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), टिडिएस तथा अन्तःशुल्क शीर्षकमा बाँकी कर तत्काल बुझाउन निर्देशन दिएको हो। पटक–पटक टेलिफोन, सन्देश तथा पत्राचारमार्फत ताकेता गर्दा पनि अटेर गर्ने करदाताको संख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ।
सूचनाअनुसार, २०८२ चैत मसान्तसम्म बक्यौता चुक्ता गर्न अन्तिम मौका दिइएको छ। सो अवधिभित्र कर नतिरेमा बिना थप सूचना कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।
⚖️ कस्तो कारबाही हुन सक्छ?
कार्यालयका अनुसार प्रचलित कानुनअनुसार:
सम्पत्ति रोक्का र लिलामी प्रक्रिया सुरु गरिने
बैंक तथा वित्तीय संस्थामा रहेको रकमबाट सिधै असुली गरिने
चल तथा अचल सम्पत्ति कब्जा गरिने
विदेश यात्रा प्रतिबन्धका लागि सम्बन्धित निकायमा सिफारिस गरिने
आयात–निर्यात गतिविधि रोक्का गरिने
सरकारी निकायबाट प्राप्त हुने भुक्तानीबाट रकम कट्टा गरिने
यसका लागि आयकर ऐन २०५८ को दफा १०४ र १०५ अनुसार प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
राजस्व कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै करदातालाई जिम्मेवार बन्न र समयमै कर तिर्न आग्रह गरेको छ।



