cURL Error: 0 बि एण्ड सी मेडिकल कलेजमा विद्यार्थीको चहलपल उल्लासमय - पूर्व खबर

बि एण्ड सी मेडिकल कलेजमा विद्यार्थीको चहलपल उल्लासमय

डाक्टर पढ्न आएका दर्जनौ विद्यार्थीको चहलपहल उल्लासमय थियो । उनीहरु घरि यताउता डुल्दै फोटो खिचाउँथे । घरि लामबद्ध भएर कोठाभित्र पस्थे र बाहिरिन्थे । उनीहरुको बोली, व्यवहार र अनुहारमा नयाँ ऊर्जा झल्किन्थ्यो । विद्यार्थी मात्र होइन, डाक्टरलाई पढाउने प्रोफेसरहरुको चहलपहल पनि हेर्नलायक थियो ।

यो दृश्य आज मेचीनगर–१२ धाइजनस्थित बीएन्डसी मेडिकल कलेजको साइन्स भवनको हो । जहाँ एक कार्यक्रमबीच कलेजले पहिलो ब्याच (सन् २०२५)का एमबीबीएस विद्यार्थीलाई स्वागत सम्मान गरेको थियो ।

विर्तामोडमा बीएन्डसी हस्पिटल रहेको भए तापनि एमबीबीएस (डाक्टर पढ्ने विद्यार्थी)लाई पढाउन मेचीनगर–१२ धाइजनमा छुट्टै साइन्स भवन बनाइएको छ । कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो ।

कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाई प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता कलेजकी संस्थापक अध्यक्ष इन्दिरा गिरीले गर्नु भएको थियो ।

कलेजका विभिन्न विभाग र संकायका प्रमुखहरुको उपस्थिति रहेको उक्त अवसरमा कलेजका अध्यक्ष डा. रामबाबु गिरी, निर्देशक डा. अञ्जलि कार्की प्रसाई, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतले भविष्यमा डाक्टर बनेर सेवा गर्ने महान लक्ष्य बोकेर कलेजमा पहिलो पाइला टेकेका नयाँ विद्यार्थीलाई फूलगुच्छा र खादा प्रदान गरेर स्वागत तथा सम्मान गर्नु भएको थियो ।

कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले सञ्चालन गरेको सो कार्यक्रमको समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

हाल बीएन्डसी मेडिकल कलेजमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र संकाय अन्तर्गत स्नातक तह (एमबीबीएस) अध्ययन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *