झापा, जेठ २ – अर्जुनधारा नगरपालिका–४ भाङबारीमा अवस्थित अर्जुनधारा माध्यमिक विद्यालयमा माइन्युट किर्ते प्रकरणले शिक्षा क्षेत्र तताएको छ।
विद्यालयकी प्रधानाध्यापक बेदमाया निरौलामाथि नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य एवं सञ्चारकर्मी इन्द्रकुमार राईलाई लक्षित गर्दै माइन्युट किर्ते गरेको आरोप लागेको हो।
सञ्चारकर्मी राईले विद्यालयको नेतृत्वमा योग्यता नपुगेको व्यक्ति आउँदा शैक्षिक गुणस्तर खस्किएको भन्दै वैशाख २४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गरेका थिए। उनले मावि तहको प्रधानाध्यापक बन्नका लागि न्यूनतम योग्यता नपुगेको भन्दै शिक्षा शाखाको ध्यानाकर्षण गराएका थिए।
तर, उक्त टिप्पणीपछि विद्यालय व्यवस्थापन समितिको बैठकको नाममा एक माइन्युट बनाई प्रधानाध्यापक निरौलाले राईप्रति ‘घोर भत्र्सना’ गरिएको उल्लेख गर्दै पोष्ट हटाउन आग्रह गर्नुभएको छ।
उक्त माइन्युटमा राईले भ्रामक र कपोलकल्पित टिप्पणी गरी विद्यालयको छविमा आँच ल्याएको दाबी गरिएको छ।
राईले भने ती माइन्युटहरू बैठक नबसी पछि थपिएको कागज भएको दाबी गर्दै त्यसलाई माइन्युट किर्तेको संज्ञा दिएका छन्।
“प्रधानाध्यापक आफैं अयोग्य छन्, त्यो ढाकछोप गर्न माइन्युट दुरुपयोग गरेर कानुनी धम्की दिनु निन्दनीय हो,” राईले भने। उनले कानुनी उपचार खोज्ने र प्रधानाध्यापक हटाई योग्य व्यक्ति नियुक्त गर्न माग गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालले भने औपचारिक निर्णय नभई आपसी छलफल भएको मात्र उल्लेख गर्दै राईसँगको असमझदारी मिलाउने प्रयास भइरहेको बताए।
यो घटनाले स्थानीयस्तरमा पनि चासो बढाएको छ। विद्यालय नेतृत्वले पत्रकारलाई तर्साउने शैली अपनाएको भन्दै अभिव्यक्ति स्वतन्त्रता हनन भएको स्थानीय अभिभावकहरूको भनाइ छ। उनीहरूले प्रधानाध्यापक निरौलामाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
विद्यालयको आधिकारिक कागजात दुरुपयोग गरिएको भन्दै शिक्षा शाखाले छानबिन थाल्नुपर्ने आवश्यकता देखिएको छ।





