बिर्तामोड, असार २५ । झापाको बाह्रदशी गाउँपालिका–५ मा भएको मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार दिउँसो सवा ३ बजेतिर मे ९ प ३१३१ नम्बरको भारतीय मोटरसाइकल र प्रदेश १–०२–०२ प ५३२३ नम्बरको नेपाली स्कुटर ठोक्किँदा गम्भीर घाइते भएका दुबै सवारीका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन भने स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेको प्रहरीले पुष्टि गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ .।





