पत्रकार उपचार सहयोग कोषमा चेतन अधिकारीद्वारा १५ हजार रुपैयाँ सहयोग

झापा, असार २५ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारीले पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रेस चौतारी नेपाल झापा शाखाद्वारा २०६९ सालमा स्थापना गरिएको सो कोषमा अधिकारीले दिएको सो रकम बुधबार झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई हस्तान्तरण गरिएको हो।

कोषमा रकम पठाउँदै अधिकारीले पत्रकारको स्वास्थ्य उपचारमा सघाउन कोषको महत्व रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कोष विस्तार हुनुपर्ने बताए। पत्रकार अधिकारी विगतमा कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ संवाददाताका रूपमा  क्रियाशील समेत रहेका थिए।

पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय अधिकारी नेकपा (एमाले) का  अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रेस संयोजकका रूपमा समेत रहेर काम गरिसकेका छन्। राष्ट्रिय स्तरमा पत्रकार हित संरक्षण र सुदृढ संस्थागत व्यवस्थाका पक्षमा स्पष्ट धारणा राख्दै आएका अधिकारी प्रेस स्वतन्त्रताको सवालमा पनि अग्रपंक्तिमा रहने पत्रकारका रूपमा चिनिन्छन्।

पत्रकार उपचार कोषका संयोजक भीमा शिवाकोटीका अनुसार हालसम्म कोषमा साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ। कोषको व्याजबाट उपचार खर्चमा सहयोग गरिने गरिएको छ।

संयोजक शिवाकोटीले पत्रकारहरुलाई कोषमा सदस्य बन्न आह्वान गरेका छन्। आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगीता उप्रेती कोषको सदस्य बनेका छन्। यसबारे जानकारी उपाध्यक्ष सुनिरा मैनालीले दिएकी हुन्।

कोषमा विभिन्न सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाले समेत समय–समयमा सहयोग गर्दै आएको संयोजक शिवाकोटीले जानकारी दिए। पत्रकारका लागि स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न यस्ता कोषहरु आवश्यक रहेको सहभागीहरुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array