लागू औषधमा संलग्न कार्यकर्तामाथि एमालेको कारबाही : राजनीतिलाई पवित्रता दिने प्रयास

 

– राजकुमार ओली, ३ साउन पूर्व खबर

झापाको बिर्तामोडमा लागू औषध कारोबारको शङ्कामा मुछिएका व्यक्तिलाई नेकपा एमाले नगर समितिबाट निलम्बन गरिएको छ। जिल्लामै पहिलोपटक सार्वजनिकरूपमा यस्तो राजनीतिक कारबाही भएको भन्दै नागरिकस्तरमा यो कदमप्रति प्रशंसा प्रकट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीबाट श्रावण २ गते बिर्तामोड नगरपालिका–५ मंगलदीप टोलबाट लागुऔषध बरामद गरी अनुसन्धानको क्रममा रहेका मेडिकल व्यवसायी  भानुभक्त खरेल नेकपा एमाले बिर्तामोड नगर कमिटीका सदस्य रहेको  भएपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै नगर समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

राजनीतिक संरक्षणविरुद्ध सार्वजनिक कदम

विज्ञप्तिमा भनिएको छ,

“गलत क्रियाकलापमा संलग्न जो कोहीलाई कारबाही हुन्छ भन्ने हाम्रो पार्टीको नीति रहेकोले… नगर कमिटी सदस्य खरेललाई निलम्बन गरिएको जानकारी गराइन्छ।”

नगर अध्यक्ष सुवास भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिलाई ‘राजनीतिलाई पवित्र बनाउने साहसिक प्रयास’ भन्दै नागरिक स्तरमा सकारात्मक प्रतिक्रिया आएको छ।
बिर्तामोडका स्थानीय नागरिक रमेशकुमार बास्तोलाले भने,

“राजनीतिक कार्यकर्ताले आपराधिक क्रियाकलाप गरे कारबाही हुन्छ भन्ने संस्कृति अब विस्तारै बस्न थालेको छ, जुन अत्यन्त सकारात्मक छ।”

लागू औषधको बढ्दो जालो : समाजको पीडा

बिर्तामोड, मेचीनगर, दमक लगायतका शहरी क्षेत्रमा पछिल्लो समय लागू औषध प्रयोगकर्ता किशोर–किशोरीको संख्या दिनप्रतिदिन बढिरहेको प्रहरी रिपोर्टले देखाएको छ।
प्रहरी स्रोतका अनुसार बिर्तामोड क्षेत्रमा स्पास्मो प्रोक्सिभन, नाइट्रोभेट, डाइजेपाम, कोरेक्स लगायतका औषधिको अवैध ओसारपसार र सेवन व्यापक छ।

एक जना अभिभावकको भनाइ यस्तो छ:

“मेरो छोरालाई स्कूलबाट निकालियो। अहिले उपचार गराउँदैछु, तर मलाई लाग्छ, उसले कसैबाट ‘मदत’ पाएको थियो। यस्ता सञ्जालमा नेता कार्यकर्ताको संलग्नता हुनु दुःखद हो।”

राजनीति र अपराधको गाभिनु: गम्भीर चिन्ता

सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको एक आम जनमत यस्तो देखिन्छ:

“लागू औषधको गोदाम खोलेर निर्दोष युवाहरूलाई कुलतमा फसाउने र रातारात करोडपति बन्ने छुट कसैलाई पनि दिनु हुँदैन। राजनीति र अपराध छुट्टिनुपर्छ।”

‘क्लिन पोलिटिक्स’ को सुरुवात?

विश्लेषकहरूका अनुसार, बिर्तामोडबाट सुरु भएको एमालेको यो कारबाहीले देशव्यापी ‘क्लिन पोलिटिक्स’ अभियानलाई गति दिन सक्छ।
स्थानीय रमेश उप्रेती भन्छन्,

“राजनीतिक दलले आफ्ना कार्यकर्ताको आपराधिक क्रियाकलापलाई छानबिन गर्न सक्ने र कारबाही गर्न सक्ने हैसियत देखाउनु नै लोकतान्त्रिक परिपक्वताको संकेत हो।”

राजनीतिक दलहरूकै आडमा लागू औषध कारोबार चलिरहेको आम बुझाइलाई तोड्दै, नेकपा एमाले बिर्तामोड नगर कमिटीले दिएको कारबाहीको सन्देश सशक्त छ।
बिर्तामोडका नागरिकले यस्तो कदमलाई स्वागत गरिरहेका छन् र अपेक्षा गरिरहेका छन् कि अन्य दलहरूबाट पनि यस्ता नैतिक र अनुशासनात्मक कदमहरू निरन्तर हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array