राजकुमार ओली
झापा, साउन २१, पूर्व खबर
झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याप्सन (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) भित्रको आन्तरिक मतभेद सतहमा आएको छ।
विशेष गरी १४औँ जिल्ला अधिवेशनपछि नेतृत्व पंक्तिमा देखिएको असहमति र असमझदारीले संगठनभित्र गुटगत गतिविधि मौलाउँदै गएको संकेत देखिएको हो।
प्याप्सन झापाको अध्यक्षमा हाल छत्र कार्की निर्वाचित भएपनि, पराजित समूहका नेताहरूले संगठनलाई निष्पक्ष रूपमा अघि बढाउन आवश्यक संवाद, समावेशीता र पारदर्शिता नदेखिएको आरोप लगाएका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी जनार्दन ढकाल समर्थक समूहले ‘झापा क्लस्टर प्याप्सन’को ब्यानरमा वैकल्पिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेका छन्।
हालै शिवसताक्षीको वाटर किङ्डम पार्कमा सम्पन्न सामाजिक सुरक्षा कोष, कर तथा आन्तरिक लेखा व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा १५३ जना संस्थापक प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्षता जनार्दन ढकालले गर्दै, संस्था भन्दा पनि विषयलाई केन्द्रमा राखिएको संकेत दिएका थिए।
ढकाल पक्षका अर्का पूर्व अध्यक्ष जनार्दन मैनालीले पनि संगठनमा समावेशीता नहुँदा विकल्प खोज्नु परेको तर्क गरे। उनका अनुसार, पराजित भनिएका समूहलाई हेपिएको महसुस भएपछि वैकल्पिक अभ्यास सुरु भएको हो।
तर संस्थापन पक्षका अध्यक्ष छत्र कार्की भने नेतृत्व सम्हालेपछि सबैलाई समेट्ने प्रयास भइरहेको दाबी गर्छन्। कार्कीले केही पूर्व प्रतिस्पर्धीहरूलाई प्राज्ञिक सल्लाहकारको रूपमा जोड्ने प्रयास गरिएको बताउँदै, विभिन्न पालिकासँग सहकार्यमा कार्यक्रमहरू अगाडि बढेको बताएका छन्।
कसरी बाहिर आउँदैछ मतभेद?
झापाका ३०९ सदस्य विद्यालयमध्ये करिब आधाले वैकल्पिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन थालेपछि संगठनको दुई धार प्रष्ट देखिन थालेको हो। ‘झापा क्लस्टर प्याप्सन’को गतिविधिमा जिल्ला कार्यसमितिलाई बारम्बार निमन्त्रणा दिइए पनि उनीहरू अनुपस्थित रहँदै आएका छन्।
यो घटनाक्रमले संस्थागत अभ्यासभन्दा बाहिर गएर शिक्षा क्षेत्रमा कार्यशैली र दृष्टिकोणमा गहिरो मतभेद उत्पन्न भएको पुष्टि गर्छ। शिक्षा विज्ञहरू भन्छन्, यस्तो बहसलाई लोकतान्त्रिक परिपक्वताको उदाहरण मानिए पनि आपसी अस्वीकार भावनाले संगठनलाई दीर्घकालीन क्षति पुर्याउन सक्छ।
के समाधान सम्भव छैन?
संगठनका जानकारहरूका अनुसार, यो परिस्थिति विवादभन्दा बढी सुधार र समावेशी अभ्यासको अवसरको रूपमा लिन सकिन्छ। प्याप्सन झापाले विगत तीन दशकभन्दा बढी लामो यात्रा तय गरिसकेको पृष्ठभूमिमा यस्ता मतभेदहरू स्वाभाविक भए पनि संवाद, सहकार्य र साझा उद्देश्यप्रति प्रतिबद्धता नभए संगठन उद्देश्यहीन बन्ने जोखिम रहन्छ।
शिक्षा क्षेत्र संवेदनशील क्षेत्र भएकाले कुनै पनि आन्तरिक खिचातानीको असर विद्यार्थी, शिक्षक र अभिभावकहरूमा प्रत्यक्ष पर्ने हुन्छ। त्यसैले संगठनको मूल मर्म जोगाउन सबै पक्ष मिलेर अघि बढ्नु अपरिहार्य देखिन्छ .।
प्याप्सन झापा भित्र उत्पन्न गहिरिँदो ध्रुवीकरणको अवस्था संगठनभित्र सुधारको चेतावनी हो। नेतृत्व परिवर्तनपछिको समन्वय अभाव, गुटगत सोच र पारदर्शिताको कमीले संस्थागत क्षमतामा आँच पुर्याउने खतरा स्पष्ट देखिएको छ। तर यदि वर्तमान परिस्थितिलाई सम्हाल्दै सहकार्य र समावेशी अभ्यासमा सबै पक्ष एकमत भएमा, यो अवस्था संगठनलाई अझ सशक्त बनाउने अवसरमा रूपान्तरण हुन सक्छ।





