cURL Error: 0 शर्मिला पाठक : संघर्ष, सफलता र नेतृत्वको प्रतिमूर्ति - पूर्व खबर

शर्मिला पाठक : संघर्ष, सफलता र नेतृत्वको प्रतिमूर्ति

 

राजकुमार ओली, बिर्तामोड,२१ साउन: (पूर्व खबर)

झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ दुधेकी शर्मिला पाठक आज बैंकिङ, व्यवसाय र सामाजिक सेवाका क्षेत्रमा एक प्रेरणादायी नेतृत्वको रुपमा चिनिन्छिन्।

सानैदेखि अध्ययनशील, कर्मशील र आत्मनिर्भर बन्ने दृढ अठोटका साथ अघि बढेकी पाठकको जीवनयात्रा उनीसँगैका धेरैका लागि प्रेरणाको श्रोत बनेको छ।

साविक सतासीधाम गाविस वडा नं. ७ मा बुवा छविलाल पाठक र आमा बिष्णुमाया पाठककी कान्छी सन्तानका रूपमा जन्मेकी शर्मिलाले प्रारम्भिक शिक्षा सतासी प्राविबाट लिएकी थिइन्। राष्ट्रिय रमणीय आदर्श माविबाट एसएलसी प्रथम श्रेणीमा उतीर्ण गरेपछि अध्ययनको सिलसिलामा अनेकौं उतारचढाव पार गर्दै अघि बढेकी उनले कन्काई क्याम्पस सुरुङामा आई.ए.मा छात्रवृत्ति सहित भर्ना भइ अध्ययनलाई निरन्तरता दिइन्।

उच्च शिक्षामा दमक बहुमुखी क्याम्पसबाट अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातक उत्तीर्ण गरेकी शर्मिला तत्कालीन पूर्वाञ्चल क्षेत्रमै सबैभन्दा उच्च अंक ल्याउँदै नेपाल राष्ट्र बैंकको छात्रवृत्ति प्राप्त गर्न सफल भइन्। यही छात्रवृत्तिले शर्मिलालाई बैंकिङ क्षेत्रमा प्रवेश गराउने नयाँ ढोका खोलिदियो। उनले अर्थशास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन गर्दा किर्तिपुरको केन्द्रीय क्याम्पसमा रहेर अध्ययन गरिन्।

२००५ मा बैंक अफ काठमाण्डौ (हाल ग्लोबल आईएमई बैंक) को मुख्य कार्यालयबाट बैंकिङ यात्रा सुरु गरेकी शर्मिलाले ट्रेलर, अप्रेशन इन्चार्ज, रेमिट्यान्स प्रमुख, बजेट तथा योजना विभागदेखि शाखा प्रमुखसम्मको भूमिका कुशलतापूर्वक निर्वाह गरिन्। विर्तामोड शाखाको प्रमुख हुँदा उनी पूर्वाञ्चल क्षेत्रकै पहिलो महिला शाखा प्रमुख बनिन्। काठमाण्डौं र आसपासका १० वटा शाखा हेर्ने क्षेत्रीय सञ्चालन अधिकृतका रूपमा उनले आफ्नो नेतृत्व क्षमता उजागर गरिन्।

भारतको पुणेमा भारतीय दूतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय बैंकिङ तालिममा सन् २००८ मा नेपालको प्रतिनिधित्व गर्दै शर्मिलाले आफ्नो अन्तर्राष्ट्रिय पहिचान समेत बनाइन्। त्यसैगरी उनले ५६ जिल्लामा सहकारी र माइक्रोफाइनान्ससँगको सहकार्यमा गरिएका कार्य अनुभव समेत हासिल गरिन्। यही कर्मशीलता, लगनशीलता र दक्षताले शर्मिलालाई ‘विरता लेडिज जेसीज’ द्वारा उत्कृष्ट महिला बैंकर्सको रुपमा सम्मानित गरायो।

बैंकिङ अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने ध्येयले उनले विभिन्न कलेज तथा विद्यालयमा बैंकिङ सचेतना कक्षा सञ्चालन गर्दै आइरहेकी छन्। उनको यो प्रयास युवाहरुलाई व्यावहारिक ज्ञान र प्रेरणाको स्रोत बन्न पुगेको छ।

सामाजिक क्षेत्रमा २०१९ मा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सदस्यता लिएपछि शर्मिलाले रोटरी क्लव अफ मेचीनगरको स्थापनामा अग्रणी भूमिका निर्वाह गरिन्। अहिले उनी सोही क्लवकी अध्यक्षको रुपमा कार्यरत छिन्। उनले आफ्नो कार्यकालमा शान्ति निर्माण, स्वास्थ्य, वातावरण संरक्षण, आर्थिक र सामुदायिक विकास, शिक्षा तथा साक्षरता जस्ता क्षेत्रमा ध्यान केन्द्रित गर्ने योजना अघि सारेकी छन्।

पारिवारिक रूपमा पनि शर्मिला सफल र सन्तुलित जीवनयात्रा अघि बढाइरहेकी छन्। पति किशोर क्षेत्री (कपिल), चार सन्तान र ससुराबुवा जंगबहादुर क्षेत्रीको प्रेरणा र समर्थनले उनको यात्रा अझ सार्थक बन्न पुगेको छ। उनी हाल रोयल कोल्ड स्टोरेज बिर्तामोडकी मेनेजिङ डाइरेक्टर तथा जय माँ कामाख्या प्लाईवुड इण्डष्ट्रिज प्रालि मेचीनगर–१५ की सञ्चालक तथा चिफ फाइनान्स अफिसरको जिम्मेवारीमा क्रियाशील छिन्।

शर्मिला पाठकको जीवन एक उदाहरण हो — जहाँ संघर्ष छ, आत्मबल छ, अनि सफलताको उज्यालो यात्रा पनि। बैंकर्स संघ तथा सम्पूर्ण वित्तीय क्षेत्रका लागि उनी प्रेरणाका स्रोत हुन्।

उनीजस्ता महिला नेतृत्वकर्ताले नेपालको बैंकिङ क्षेत्रलाई मात्र होइन, सामाजिक रूपान्तरणमा समेत नयाँ दिशा देखाइरहेका छन्। रोटरी क्लव अफ मेचीनगरको नेतृत्व सम्हालेकी शर्मिलाले आगामी दिनमा पनि सामाजिक सेवा र सशक्त नेतृत्वका नयाँ अध्याय कोर्ने निश्चित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *