बिर्तामोड,२१ साउन: (रासस)
झापाको दमकमा श्रीकृष्ण प्रणामी मन्दिरमा साउन ३१ गते रात्रीकालीन श्रीकृष्ण प्राकट्य महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न हुने भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की कार्यक्रमका प्रमुख अतिथि रहने भएसँगै महोत्सवको तयारी पूरा भएको हो।
कार्यक्रम बेलुका ९ बजेबाट राति १२ बजेसम्म सञ्चालन हुनेछ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस महोत्सवको तयारी तीव्र गतिमा भइरहेको आयोजक समितिले जानकारी दिएको छ।
दमकमा विगत १० वर्षदेखि आयोजना हुँदै आएको कार्यक्रममा २०८० सालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा २०८१ सालमा मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा महोत्सव सम्पन्न भइसकेको छ। यस वर्ष पनि मुख्यमन्त्री कार्कीको निरन्तर सहभागिताले कार्यक्रमको गरिमा बढाएको छ। मुख्यमन्त्रीलाई निमन्त्रणा पत्र औपचारिक रूपमा हस्तान्तरण गरिसकिएको आयोजकका कुबेर भट्टराईले बताएका छन्।
दमक–९ का वडाध्यक्ष तथा प्रणामी समुदायका अगुवा कुबेर भट्टराईले महोत्सवलाई केवल धार्मिक कर्मकाण्डको रूपमा नभइ समाजमा आस्था, सेवा र सहअस्तित्वको अभ्यासका रूपमा लिइएको बताए।
उनका अनुसार, “मन्दिर परिसरमा उज्यालो सिंगार, ध्वनि प्रणाली, पार्किङ, पँक्तिबद्ध दर्शन र भक्तजन व्यवस्थापनमा विशेष तयारी गरिएको छ।”
धार्मिक अग्रज प्रेम भट्टराईले भने, “श्रीकृष्ण प्राकट्य महोत्सव नैतिक शिक्षाको स्मरण हो। यसले अनुशासन, समर्पण र धर्मको मूल मर्मलाई उजागर गर्छ। यो केवल प्रणामीहरूको चाड नभई, सम्पूर्ण दमकवासीको आस्थाको केन्द्र बनिसकेको छ।”
दमक नगरपालिकाका नगरप्रमुख राम थापाले महोत्सवप्रति पूर्ण समर्थन जनाउँदै भन्नुभयो “दमक बहुजातीय, बहु–आस्थाको साझा थलो हो। यस्ता आयोजनाले नगरको धार्मिक सहिष्णुता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्छ। नगरपालिका यस्ता पवित्र कार्यमा सँधै सकारात्मक छ।”
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले भन्नुभयो “श्रीकृष्ण प्राकट्य महोत्सव समुदायको भावना, परम्परा र सांस्कृतिक उत्तराधिकारको सम्मान हो। दमकले यस्ता परम्परामा अग्रता लिँदै आएको छ र आगामी पुस्तालाई पनि धर्म संस्कृतिप्रति गर्व गराउने अभ्यासमा हामी प्रतिबद्ध छौं।”
श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष प्रेम भट्टराईका अनुसार, महोत्सव सकिए लगत्तै भदौ १ गते दमकमा भव्य श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी पनि पूरा भइसकेको छ।
“रथयात्रा केवल परम्परा नभई सम्पूर्ण नगरवासीको धार्मिक सहभागिता र सांस्कृतिक उत्सव हो,” उनले भने।
दमकको मुख्य बजार हुँदै निकालिने रथयात्राका लागि सुरक्षा, ट्राफिक, सरसफाइ र सांगीतिक प्रस्तुतिका पक्षमा विशेष ध्यान दिइएको उनले जानकारी दिए।
धार्मिक आस्था, सामाजिक एकता र परम्पराको सम्मानको त्रिवेणी बनेको श्रीकृष्ण प्राकट्य महोत्सव यस वर्ष पनि दमक–९ मा भव्य रूपमा मनाउन लागिएको हो ।
मुख्यमन्त्रीको उपस्थिति, नगरपालिका नेतृत्वको समर्थन, समुदायको समर्पण र श्रीकृष्ण रथयात्राको भव्य तयारीले दमकलाई धर्म, संस्कृति र सहिष्णुताको उत्कृष्ट नमूनाका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।





