बिरामीको उपचारमा कटिबद्ध भएर लागि परेका छौँ -अध्यक्ष मैनाली

 

बिर्तामोड, साउन पूर्व खबर

झापाको बिर्तामोडस्थित चिल्ड्रेन अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएका नौ महिनाका एक शिशुको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ।

 

अर्जुनधारा नगरपालिका–५ चाँदनी चोक निवासी दिपा गिरीको छोरामा देखिएको छारे रोग (सिजर) सम्बन्धमा बिरामीका हजुरबुवा रामबहादुर गिरीले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालले पत्रकार सम्मेलनमार्फत वास्तविकता स्पष्ट गरेको हो।

अस्पतालकी अध्यक्ष लीलादेवी मैनालीका अनुसार शिशुलाई साउन २ गते बिहान साढे ५ बजे गम्भीर अवस्थामा ल्याइएको थियो। अस्पतालले जटिल अवस्थामा ल्याइएको बालकलाई लामो समयसम्म अस्पतालमा राखेर आवश्यक उपचार गरेको र पाँच दिनसम्म अब्जरभेसनमा राखेपछि अवस्था सामान्य भएको देखिएपछि मात्र डिस्चार्ज गरिएको बताइन्।

“बच्चा डिस्चार्ज हुँदा सामान्य अवस्थामा फर्किएको थियो। आमा स्वयंले खुवाउन सक्ने भएपश्चात आवश्यक सल्लाहसहित डिस्चार्ज गरिएको हो,” अध्यक्ष मैनालीले भनिन्, “तर, पछि घरमा समस्या देखिए पनि तत्काल अस्पताल ल्याउनुभन्दा धामीझाँक्रीको शरणमा गइएको देखियो, जसले अस्पतालको विश्वसनीयता र डाक्टरको मनोबलमा असर पुग्ने कार्य भयो।”

उनले अस्पतालले अभिभावकले बुझाएको सम्पूर्ण रकमको बिल सुरक्षित रहेको र ५० हजार रुपैयाँभन्दा बढी छुट दिएको जानकारी दिँदै सामाजिक सञ्जालमा भनिएजस्तो ७ लाख रुपैयाँ बुझाएको भन्ने दाबी असत्य भएको स्पष्ट पारिन्। साथै, अभिभावकले उपचार गर्न अस्वीकार गर्दै अस्पतालसँग ४ लाख ८० हजार रुपैयाँ मागेको बताइन्।

बालरोग विशेषज्ञ डा. रुपक आचार्यका अनुसार शिशुलाई पटक–पटक सिजर दोहोरिइरहेको अवस्थामा ल्याइएको थियो। प्रोटोकल अनुसारको सम्पूर्ण उपचार गरिएको र बिरामीलाई साउन १९ गते सामान्य अवस्थामा फर्काएर घर पठाइएको जानकारी दिए।

“शिशुको टाउको उमेर अनुसार सानो रहेकाले ईईजी परीक्षण आवश्यक थियो। त्यो रिपोर्टको आधारमा थप औषधि तय गरिनुपर्ने थियो, तर अभिभावकले ईईजी गर्न मानेनन्,” डा. आचार्यले भने, “छारे रोग शतप्रतिशत निको हुने रोग होइन, उचित औषधिको मात्रा र निरन्तर उपचार आवश्यक पर्छ। तर, औषधि सही मात्रामा नखुवाइ पुनः समस्या दोहोरिएको हुनसक्छ।”

अस्पतालले सामाजिक सञ्जालबाट जानकारी पाएपछि डाक्टरसहितको टोली बिरामीको घरमै पुगेर अवस्था बुझेको थियो। अवस्था गम्भीर देखिएपछि पुनः अस्पतालमा ल्याएर उपचार गर्न आग्रह गरिए पनि अभिभावकले नमानेको अध्यक्ष मैनालीको भनाइ छ।

अस्पताल प्रशासनले उपचारका क्रममा कुनै लापरवाही नभएको, सेवा निःस्वार्थ भावनाले प्रदान गरिएको र झुटा प्रचारबाट अस्पतालको छवि धमिल्याउने कार्य रोक्न सबैमा आग्रह गरेको छ।

बिरामीका आफन्तले भने आफूहरुलाई अन्याय भएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array