राजकुमार ओली, झापा, साउन २१,
झापा जिल्लामा अपराध नियन्त्रण र सामाजिक शुद्धीकरणका लागि प्रहरीले कडा कदम चाल्दै आएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजन लिम्बुको समन्वय र इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठको नेतृत्वमा पछिल्लो समयमा जुवातासलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भइरहेको छ।
यसै क्रममा प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बिर्तामोड बसपार्क छिर्ने ट्राफिक बिट छेउमा रहेको सरोज श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नगदसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया–नास्ता पसलमा जुवा खेलिँदै आएको भन्ने सूचनाका आधारमा हिजो साँझ करिब ७ बजेतिर छापा मारिएको थियो। घटनास्थलबाट ६ बुङ खोलिएको र ६ बुङ नखोलिएको ताससहित नगद १ लाख १४ हजार ५५५ रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेकामा इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क घर भई हाल बिर्तामोड–५ धिमाल चोक बस्ने ३८ वर्षीय तिर्थराज तामाङ, इलाम देउमाई–१ बरबोटे घर भई हाल अर्जुनधारा–११ बसपार्क बस्ने ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ याङबरक–२ थेचम्बु घर भई हाल बिर्तामोड–६ स्यालडाँगी बस्ने ४२ वर्षीय भूपालकुमार कटुवाल, पाँचथर हिलिहाङ–८ भारपा घर भई हाल बिर्तामोड–५ किराँत चोक बस्ने २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम–४ थापाटार घर भई हाल बिर्तामोड–५ सगरमाथा टोल बस्ने ४९ वर्षीय हेमबहादुर थापा, झापा धरमपुर घर भई हाल बिर्तामोड–५ बसपार्क बस्ने ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर लालीखर्क घर भई हाल बिर्तामोड–६ बुट्टाबारी बस्ने ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ–७ घर भई हाल बिर्तामोड–५ बसपार्क बस्ने ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्।
पक्राउ परेका सबै व्यक्तिलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसएसपी राजन लिम्बुको रणनीतिक निर्देशन तथा इलाका प्रहरी प्रमुख निरीक्षक विजय श्रेष्ठको स्थलगत परिचालनमार्फत अपराध नियन्त्रणका लागि लगातार प्रयास जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीको सक्रियता र तत्कालीन सूचना व्यवस्थापनका कारण जुवातासलगायतका गैरकानुनी गतिविधिमाथि नियन्त्रण हुँदै गएको जनाइएको छ। यस्ता कारबाहीहरुले स्थानीय समाजमा शान्ति, सुरक्षा र सुशासन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास प्रहरी प्रशासनले लिएको छ।





