बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव भव्य रूपमा आयोजना हुँदै

झापा, साउन २७ (पूर्व खबर)

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव–२०८२ भव्य रूपमा आयोजना हुने भएको छ।

आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना गर्न लागेको उक्त महाउत्सवको तयारीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

कार्यक्रमका अध्यक्ष तथा परमपूज्य भक्ति शिद्धान्त दास ब्रह्मचारीसहित भक्ति शिद्ध स्वरुप दास ब्रह्मचारी, मनःशिक्षा दास ब्रह्मचारी, शान्तिदाता माधव दास, विनी माताजीलगायतले महाउत्सवको उद्देश्य, गतिविधि र तयारीका बारेमा जानकारी दिए।

भजनस्थलीका अध्यक्ष भक्ति शिद्धान्त दास ब्रह्मचारीका अनुसार, हिन्दू धर्मावलम्बीलाई भागवत गीता र श्रीमद्भागवत महापुराणको सन्देश समाजमा फैलाउने, युवालाई सनातन संस्कृति र अध्यात्मसँग जोड्ने, भगवान श्रीकृष्ण र गुरुको प्रसन्नता प्राप्त गर्ने, हरे कृष्ण महामन्त्रको प्रचार गर्ने र सबैलाई कृष्ण सेवामा प्रेरित गर्ने उद्देश्यले ‘हरे कृष्ण मोमेन्ट’ अभियान सञ्चालन भइरहेको छ।

विशेष कार्यक्रम

महाउत्सवका दिन बिहान ७ः३० बजेदेखि दर्शन आरती र गुरु पूजा, कृष्ण कथा, विश्व शान्ति महायज्ञ, भजन–कीर्तन, हरे कृष्ण वृत्तचित्र प्रदर्शन, बालबालिकाको सांस्कृतिक कार्यक्रम, नाट्य प्रस्तुति, महाभिषेक, ५६ भोग अर्पण र मध्यरातमा श्रीकृष्ण जन्मको अवसर पारेर महाआरती तथा कीर्तन हुने जनाइएको छ। कार्यक्रमका क्रममा पाँच हजारभन्दा बढी भक्तजनलाई निःशुल्क महाप्रसाद वितरण गरिनेछ।

विशेष प्रस्तुति र रथयात्रा

साउन ३१ गते साँझ ७ः३० बजेदेखि सुप्रसिद्ध भजन गायक राजु अधिकारी र रोशन अधिकारीको टिमले भजन–कीर्तन तथा अन्य सांगीतिक प्रस्तुति दिनेछन्। साथै, भजनस्थलीले वालाजी मन्दिर, बिर्तामोड–५ द्वारा आयोजित श्रीकृष्ण रथयात्रामा समेत सहभागी हुने जनाइएको छ। रथयात्राले बिर्तामोड नगर परिक्रमा गर्नेछ, जसमा स्थानीय संघ–संस्था, प्रशासन, नागरिक समाजका अगुवा, धार्मिक व्यक्तित्व र सर्वसाधारणको सहभागिता रहनेछ।

संस्थाको पृष्ठभूमि

श्री राधा माधव भजनस्थली झापा गाउँपालिका–३ मा मुख्यालयसहित जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्था हो, जसको स्थापना परमपूज्य भक्ति शिद्धान्त दास ब्रह्मचारीले गरेका हुन्। जीवनभर ब्रह्मचारी रहँदै आएका उनी नेपालका वरिष्ठ बैष्णव भक्तका रूपमा परिचित छन्।

श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मको महत्वपूर्ण पवित्र पर्व हो, जसलाई भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइन्छ। भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतार मानिन्छ र धर्म, सत्य, प्रेम र करुणाका प्रतीकका रूपमा पूजा गरिन्छ। महाउत्सवमा व्यापक सहभागिताको अपेक्षा गर्दै आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array