स्टार्टअप तथा नवप्रवर्तन अभिमुखीकरण : उद्योग व्यवसायमा सम्भावना र चुनौतीको पहिचान

 

राजकुमार ओली ,बिर्तामोड, भदौ ३ (पूर्व खबर)

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम ‘सहज’ को सहकार्यमा उद्योगी व्यवसायीका लागि स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी दुईदिने अभिमुखीकरण मंगलबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ।

“उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? सिर्जनात्मक उद्यमलाई कसरी विकास गर्ने ?” भन्ने मुख्य विषयमा आधारित रहेर सुरु गरिएको उक्त अभिमुखीकरणमा मेची करिडोरका स्थानीय तह, निजी क्षेत्रका उद्योग वाणिज्य संघ र व्यवसायी गरी करिब ३० जनाको सहभागिता रहेको छ ।

अभिमुखीकरण कार्यक्रममा स्टार्टअप र नवप्रवर्तनका विज्ञ निरज खनाल र अनिल पराजुलीले सहजीकरण गर्दै व्यवसायमा नवप्रवर्तन र सिर्जनशीलताको आवश्यकता औंल्याउनुभयो । उहाँहरुले नेपालमा व्यवसाय सुरुआत गर्ने वातावरण अझै जटिल रहेको भए पनि सहकार्य, नवीन सोच र प्रविधिको प्रयोगमार्फत सफलता हासिल गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी श्यामले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै प्रदेशमा स्टार्टअप प्रवद्र्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यका माध्यमबाट युवालाई उद्यमशीलता र नवप्रवर्तनतर्फ आकर्षित गराउने यो कार्यक्रम विशेष हुने अपेक्षा गरिएको छ ।

सम्भावना र चुनौतीबारे छलफल

कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले स्टार्टअप अभिमुखीकरणले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले “यस्ता कार्यक्रमले युवालाई स्वरोजगारतर्फ लाग्न प्रेरित गर्नुका साथै सरकारी निकाय र निजी क्षेत्रबीच आपसी समन्वयलाई पनि मजबुत बनाउँछ,” भन्नुभयो ।

त्यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायिक नवप्रवर्तनलाई अघि बढाउन यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले व्यवसायमा नवीन सोच र प्रविधि भित्र्याउन ढिलो नगरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, नेपाल अलैची व्यवसायी महासंघका कार्यालय प्रमुख अनिल ढुङ्गाना र नेपाल सुपारी खेती विकास संस्थाका खतिवडाले आफ्ना क्षेत्रीय व्यवसायमा देखिएका चुनौती र आगामी सम्भावनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कोशी प्रदेशमा लगानी र संलग्नता

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशमा हाल करिब ९५ अर्ब २५ करोड रुपैयाँ लगानी भइसकेको जानकारी दिनुभयो । उहाँले आउँदो वर्ष नेपाल सरकारको सहकार्यमा उद्योग व्यवसायमा लगानी दोब्बर हुने अनुमान गरिएको समेत बताउनुभयो ।

अध्यक्ष राउतका अनुसार मेची करिडोरमा नेपाल चिया उत्पादन संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल अलैची व्यवसायी महासंघ लगायतका कृषि र व्यवसायमा जोडिएका उत्कृष्ट  संस्थाहरू महासंघमा आबद्ध हुँदै व्यवसायीमा अगाडि बढेको देखिएको बताएका छन्। छन् । कोशी प्रदेशमा मात्रै ५ लाख ८० हजार परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्योगसँग आबद्ध भएर जीवनयापन गरिरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले उद्योग व्यवसायलाई थप सबल बनाउन नवप्रवर्तन नै प्रमुख उपाय भएको औंल्याउनुभयो ।

कार्यक्रमको  मङ्गलबारबाट बिर्तामोडमा सुरु भएको र आगामी भदौ ६ र ७ गते विराटनगरमा दुईदिने सोही किसिमको कार्यक्रम आयोजना गरिनेछ प्रमुख भण्डारीले बताए । विराटनगरको कार्यक्रममा पनि करिब ६० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभित्र उद्योग व्यवसायलाई दिगो बनाउन नवप्रवर्तन, सिर्जनात्मक सोच र प्रविधि उपयोगलाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array