राजकुमार ओली,४ भदौ काँकरभिटा
नेपाल–भारत सीमा क्षेत्रका विभिन्न नाकाबाट नेपाल भित्रिएका भारतिय नम्बर प्लेट भएका सवारी साधनहरूले झापा क्षेत्रमा खुलेआम व्यवसायिक सेवा दिइरहेका छन्।
काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय गाडीहरूको दैनिक चहलपहल देखिन्छ। यस्ता सवारी साधनहरू होटल, क्यासिनो र विभिन्न व्यवसायिक गतिविधिमा प्रयोग भइरहेका छन् भने, नेपालका कानुनले स्पष्ट रूपमा निषेध गरे पनि स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन बसेको देखिन्छ।
नेपालको “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” अनुसार विदेशी नम्बर प्लेट भएका गाडीलाई नेपालमा केवल व्यक्तिगत प्रयोजनका लागि अस्थायी भन्सार प्रज्ञापनसहित सीमित अवधिसम्म चलाउन अनुमति छ। तर, व्यवसायिक प्रयोजनमा विदेशी नम्बर प्लेट प्रयोग गर्न सकिँदैन। ऐनमा स्पष्ट निषेध भए पनि झापामा भारतिय नम्बर प्लेटका गाडीहरूले पर्यटक ओसारपसार, होटल–क्यासिनो सेवाग्राहीका लागि यातायात, सामान ढुवानी र ठूला व्यापारिक प्रयोजनमा समेत प्रयोग भइरहेको तथ्य खुलेको छ।
होटल र क्यासिनो व्यवसाय गैरकानुनी प्रयोगको केन्द्र
झापाको मेचीनगरस्थित होटल मेचीक्राउन र त्यससँगै सञ्चालन भइरहेको क्यासिनो भेगस, बिर्तामोडस्थित होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो यस्ता गैरकानुनी गतिविधिका मुख्य केन्द्र बनेका छन्। यी होटल तथा क्यासिनोमा दैनिक भारतिय पर्यटक र खेलाडी भित्रिने भएकाले सवारी साधनको ठूलो माग हुन्छ। सोही माग पूरा गर्न नेपालकै सार्वजनिक यातायात वा ट्याक्सीभन्दा बढी भारतिय नम्बर प्लेट भएका गाडीहरू प्रयोग हुँदै आएका छन्।
क्यासिनो व्यवसायसँग प्रत्यक्ष सम्बन्धित यस्ता गाडीहरू निर्वाध रूपमा होटल परिसरमा छिर्ने, ग्राहक ओसारपसार गर्ने र सामान ढुवानीसम्म गर्ने कार्य गरिरहेका छन्। होटल परिसरमा समेत भारतिय नम्बर प्लेटका गाडीहरू सहज रूपमा पार्किङ हुने गरेको स्थानीयले बताएका छन्।
प्रशासन मौन, प्रश्न उठाउँदै स्थानीय
नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय सबैलाई यो अवस्थाबारे जानकारी हुँदाहुँदै पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको देखिन्छ। स्थानीय व्यवसायी र नागरिकहरूले प्रशासनको मौनतालाई ‘आर्थिक र राजनीतिक प्रभाव’ को नतिजा भएको भन्दै शंका व्यक्त गरेका छन्।
विश्लेषकहरूले पनि यति ठूलो सुविधासम्पन्न क्यासिनो र होटल व्यवसायले स्थानीय सुरक्षा निकाय र प्रशासनलाई आर्थिक प्रभावमा पार्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै, त्यसैले गैरकानुनी गतिविधि रोक्न ढिलाइ भएको टिप्पणी गरेका छन्।
राजस्व घाटा र रोजगारीमा प्रत्यक्ष असर
नेपालमा व्यवसायिक प्रयोजनका लागि भित्रिने सवारी साधनमा कर र दस्तुर तिर्नुपर्ने व्यवस्था छ। तर भारतिय नम्बर प्लेटका गाडीहरू बिना कर दस्तुर झापामा सञ्चालन हुँदा नेपाल सरकारलाई करोडौं राजस्व गुमिरहेको छ।
यसले स्थानीय भाडाका ट्याक्सी, माइक्रोबस, र अन्य यातायात व्यवसाय गर्ने साना उद्यमीलाई प्रत्यक्ष असर पारेको छ। लामो समयदेखि ग्राहक पाउन मुस्किल भइरहेको भन्दै उनीहरू व्यवसाय नै धरासायी बन्दै गएको गुनासो गर्छन्। “भारतिय गाडीहरूले होटल–क्यासिनोका ग्राहक बोक्ने भएकाले हामीसँग काम गर्ने अवसर घटेको छ,” बिर्तामोडका एक ट्याक्सी व्यवसायीले बताए।
गैरकानुनी ओसारपसार र सीमाको संवेदनशीलता
विदेशी नम्बर प्लेटका गाडीहरूबाट केवल पर्यटक ओसारपसार मात्रै नभई लाखौं भारतिय रुपैया, मदिरा, क्यासिनोमा प्रयोग हुने सामग्री तथा अन्य ठूला कारोबार हुने सामग्री पनि भित्रिने गरेको स्रोतले जनाएको छ।
भन्सार जाँचको दायराबाहिर यस्ता सवारी साधन सञ्चालन हुँदा सीमावर्ती सुरक्षामा समेत गम्भीर प्रश्न उठेको छ। सुरक्षाविद्हरूका अनुसार, विदेशी गाडीहरूको यस्तो निर्बाध आवागमनले आपराधिक गतिविधि र तस्करीलाई समेत सहज बनाउन सक्ने खतरा रहेको छ।
कानुन स्पष्ट, कार्यान्वयन कमजोर
नेपालको संविधान र प्रचलित कानुनअनुसार विदेशी सवारी साधनलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्न पूर्णतः निषेध गरिएको छ। तर, झापामा तीन वर्षदेखि यस्ता गाडीहरूले खुलेआम व्यवसायिक सेवा दिइरहेको अवस्थामा कानुनको कार्यान्वयनमा प्रशासनिक कमजोरी देखिएको छ।
यसरी गैरकानुनी गतिविधि रोक्न प्रशासन मौन रहेपछि समस्या झन् संस्थागत बन्दै गएको छ। यसले राज्यको कानुनी शासनप्रति प्रश्न उठाउनुका साथै राजस्व प्रणाली, सुरक्षाको संवेदनशीलता र स्थानीय रोजगारीमा प्रत्यक्ष असर पारिरहेको छ।
विशेषज्ञको चेतावनी
आर्थिक विश्लेषकहरू भन्छन्, “यस्ता गतिविधि दीर्घकालीन रूपमा रोकिएन भने भ्रष्टाचार र बेथितिले झन् गहिरो जरा गाड्छ।” उनीहरूको भनाइमा, नेपाल सरकारले तत्कालै सम्बन्धित निकायमार्फत गैरकानुनी रूपमा सञ्चालन भइरहेका भारतिय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिन आवश्यक छ।
स्थानीयको माग
झापाका स्थानीय व्यवसायी र नागरिकहरूले तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। “हामीले रोजगारी गुमाउँदै गएका छौं।





