राजकुमार ओली। काठमाडौँ, भदौ २२
शिक्षाका लागि राष्ट्रिय अभियान (National Campaign for Education–NCE Nepal) को १६ औँ अधिवेशन तथा आठौँ राष्ट्रिय महाधिवेशन शनिबार राजधानीको अल्फा हाउसमा सुरु भएको छ।
अभियानका केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संस्थापक अध्यक्ष एवं शिक्षाअधिकारका अभियन्ता डा बाबुराम अधिकारीले नेपालमा शिक्षाको गुणस्तर, पहुँच र समानताको पक्षमा अभियानले खेलेको भूमिका महत्वपूर्ण रहेको र अब यसको अन्तर्राष्ट्रियकरण आवश्यक भएको धारणा राख्नुभयो।
उहाँले शिक्षाका लागि राष्ट्रिय अभियान स्थापना कालदेखि नै मुलुकभरका विद्यालय, समुदाय, अभिभावक र विद्यार्थीबीच शैक्षिक सचेतना अभिवृद्धि गर्न सक्रिय रहेको उल्लेख गर्दै भने, “शिक्षा मुलुकको रूपान्तरणको मेरुदण्ड हो। यसलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा प्रस्तुत गर्न अभियानले अग्रसर भूमिका खेल्नुपर्छ।”
सहभागिता र संरचना
नेपालका ५५ जिल्लाबाट १ सय ३४ जना प्रतिनिधिहरूको उपस्थितिमासाथ अधिवेशन सुरु भएको छ। शिक्षासँग सम्बन्धित विभिन्न संघसंस्था, गैरसरकारी संस्था, सहकारी तथा अभियानका साझेदारहरूको बाक्लो सहभागिता रहेको कार्यक्रमलाई ‘शिक्षा सबैका लागि’ भन्ने नारामा केन्द्रित गरिएको छ।
अभियानका महासचिव सुदर्शन सिग्देलको सञ्चालनमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि शिक्षासमिति, समितिका सभापति अमर बहादुर थापाले उद्घाटन गर्नुभएको थियो भएको थियो। उहाँले मुलुकको शैक्षिक सुधारका लागि नागरिक समाज, सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य भएको औंल्याउँदै शिक्षाका लागि राष्ट्रिय अभियान जस्तो संस्थाले निरन्तर नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो।
ऐतिहासिक पृष्ठभूमि र सुरुवात
शिक्षाका लागि राष्ट्रिय अभियान सन् २००३ मा गठन भएको हो। सुरुवाती चरणमा केही उत्साही अभियन्ता र संस्थाहरूको पहलमा स्थापित अभियानले सधैं शैक्षिक अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गर्न दबाबमूलक भूमिका खेल्दै आएको छ। संस्थापक अध्यक्ष डा बाबुराम अधिकारीले विगतको स्मरण गर्दै भन्नुभयो, “त्यस समय नेपालमा ‘शिक्षा सबैका लागि’ भन्ने अन्तर्राष्ट्रिय घोषणालाई जीवन्त बनाउने सवाल थियो। हामीले मुलुकभर शिक्षाको आवाज बुलन्द गर्न थाल्यौँ र आज त्यो अभियान राष्ट्रिय स्तर पार गरेर अन्तर्राष्ट्रिय एजेन्डासँग पनि गाँसिएको छ।”
उहाँले अबको चरणमा अभियानले प्रविधिमैत्री शिक्षा, लैङ्गिक समानता, समावेशीकरण र स्थानीय सरकारसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, नेपालको शिक्षालाई गुणस्तरीय बनाउन शिक्षा क्षेत्रमा भएका नीतिगत सुधारलाई कार्यान्वयनमा पुर्याउन नागरिक समाजले निरन्तर अनुगमन र दबाब दिनु जरुरी छ।
नेपालमा आधारभूत शिक्षाको पहुँच विस्तार भए पनि गुणस्तरका सवालमा अझै चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष पहाडीले भन्नुभयो, “विद्यालय भर्ना दर बढेको छ तर सिकाइ उपलब्धि अझै सन्तोषजनक छैन। शिक्षामा समान पहुँचका लागि ग्रामीण क्षेत्र, सीमान्तकृत समुदाय र अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्न हामी सबै गम्भीर हुनुपर्छ।”
महाधिवेशनलाई अभियन्ताहरू बाबुराम अधिकारी सहित, बाबु काजी श्रेष्ठ डिल्लीराम सुवेदी पार्वती तामाङ,डा विद्यानाथ कोइराला, लगायतले नेपालको शैक्षिक अभियानमा निःशुल्क शिक्षाको महत्वलाई जोड्दै अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
महासचिव सिग्देलले हालै सम्पन्न भएका अध्ययनहरू उद्धृत गर्दै नेपालले ‘सबैका लागि शिक्षा’ लक्ष्य हासिल गर्न कानूनी र नीतिगत रूपमा प्रगति गरे पनि व्यावहारिक कार्यान्वयनमा समस्या रहेको बताउनुभयो। उहाँका अनुसार, संघीय संरचनामा शिक्षा व्यवस्थापनलाई थप सबलीकरण गर्न स्थानीय तहसँगको सहकार्य अझ मजबुत बनाउन अभियानले विशेष कार्यक्रम अघि सार्नेछ।
अब हुने तयारी
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी वर्षका लागि कार्ययोजना पारित गर्ने तयारी गरेको छ। कार्यक्रममा प्रस्तुत कार्यपत्र अनुसार, अभियानले भविष्यमा निम्न विषयलाई प्राथमिकतामा राख्नेछ
गुणस्तरीय र समावेशी शिक्षा
शैक्षिक बजेटमा वृद्धि र पारदर्शिता
प्रविधि आधारित शिक्षाको विस्तार
शिक्षकको क्षमता अभिवृद्धि
शिक्षामा लैङ्गिक समानता र अपाङ्गता भएका बालबालिकाको समावेशीकरण
अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै अनुभव आदानप्रदान
संस्थापक अध्यक्ष अधिकारीले अधिवेशनलाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै भन्नुभयो, “हामीले सुरु गरेको यात्रा अझै लामो छ। नेपाललाई ज्ञान–आधारित समाज बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ। यो अधिवेशनले त्यसैको बाटो पहिल्याउनेछ।”
सहभागिहरूको धारणा
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले हालसम्म अभियानले गरेका गतिविधिको प्रशंसा गर्दै भविष्यमा अझ सशक्त र व्यावहारिक कार्यक्रम आवश्यक रहेको बताएका छन्। सहभागीहरूले विशेष गरी ग्रामीण भेगका विद्यालयमा आधारभूत पूर्वाधार निर्माण, सिकाइ सामग्रीको सहज आपूर्ति र शिक्षक प्रशिक्षणलाई जोड दिनुपर्ने माग गरेका छन्।
शिक्षाका लागि राष्ट्रिय अभियानको १६ औँ अधिवेशनले विगतको मूल्याङ्कन गर्दै नयाँ कार्ययोजना निर्माण गर्ने अवसर प्रदान गरेको छ। उद्घाटन समारोहमा सरोकारवालाले व्यक्त गरेका विचारले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्यलाई अझ स्पष्ट पारेको देखिन्छ ।





