एमालेको भावि नेतृत्व केपी ओली निर्विकल्प भन्नेमा प्रतिनिधिहरु सर्वसम्मत जस्तै छन्ः गौतम

गोदावरी ललितपुर, २२ भदौ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धि अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाउनु भएको छ । महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश गरेका समूहगत नेताहरुको भनाई सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनु भयो ।
सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरुले भावि पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनि प्रतिवेदन पेश गरेको बताउनु भयो । मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग गौतमले भन्नुभयो– ‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेश गरिसक्नु भयो । दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ ।’
‘सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्छ । हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिं धामीले राष्ट्रियकरण गर्नुभएको हो । अहिले अध्यक्ष केपी शर्मा ओलीज्यूले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको छ । अध्यक्ष ज्युलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं भन्नुभयो’, जैशीको भनाई उद्धिृत गर्दै गौतमले भन्नुभयो ।
त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावि नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताउनु भएको जानकारी गौतमले दिनुभयो ।
लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले बताउनुभयो ।
गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताउनु भएको थियो ।
बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनि तथ्य दिएको गौतमले बताउनु भयो ।
मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताउनु भएको उहाँले जानकारी दिनुभयो । कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको गौतमले बताउनु भयो । गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेश गर्नुभएको जानकारी उहाँले दिनु भयो । समूहगत प्रतिवेदन प्रस्तुत महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि उठेको प्रश्नको जफाव दिइसक्नु भएको छ । अहिले विधान संशोधन माथि उठेका प्रश्नको जवाफ उपाध्यक्ष विष्णु पौडेलले दिइसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array