नवराज लम्साललाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०८२’

 

राजकुमार ओली काठमाडौं, २२ भदौ :
नेपाली छन्दकविताको विकास र स्तरीकरणमा योगदान पुर्‍याउँदै आएको ‘छन्द–तरङ्ग’ले यस वर्षको छन्द–साधना पुरस्कार–२०८२ घोषणा गरेको छ।

संस्थाले सनिवार जारी गरेको विज्ञप्तिअनुसार धादिङका कवि डा. नवराज लम्साललाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र मकवानपुरका युवा पुस्ताका सक्रिय कवि पुरुषोत्तम आचार्यलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो।

‘छन्द–तरङ्ग’ले २०७६ सालदेखि हरेक वर्ष छन्दकवितामा दीर्घ योगदान दिने एक जना साधकलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र २०७९ सालदेखि ४० वर्षमुनिका एक जना युवाकविलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको छ। यसअघि रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट सम्मानित भइसकेका छन् भने सुदेश सत्याल, कविराज पौडेल र रूपक अलङ्कार ‘युवा प्रतिभा पुरस्कार’बाट सम्मानित भइसकेका छन्।

वि.सं. २०२६ साउन ८ गते धादिङमा जन्मिएका डा. लम्साल चार दशकभन्दा बढी समयदेखि छन्दकविता साधनामा सक्रिय रहँदै आएका छन्। उनका कर्ण (२०६६), धरा (२०७३), अग्नि (२०७८) र कल्प (२०८२) महाकाव्यका साथै पाइलैपिच्छे सगरमाथा (२०६०) र आगो छोपेर कतिन्जेल (२०६२) लगायतका कवितासङ्ग्रह प्रकाशित छन्। रेडियो नेपालका विभिन्न कार्यक्रममार्फत छन्दकविताको प्रचार–प्रसारमा ऐतिहासिक योगदान दिएका कारण उहाँलाई ‘नेपाली छन्दकविताको प्रचारक’का रूपमा चिनिन्छ।

वि.सं. २०४२ मा मकवानपुरमा जन्मिएका आचार्य २०६० को दशकदेखि छन्दकविता, गीत, गजल र गायनमा सक्रिय छन्। उनका भोको मझेरी (मुक्तकसङ्ग्रह, २०६८), मुटु र गीतहरू (२०७०), Roaring Flames (२०७७), छैनौ कसोरी तिमी (२०७९) र जुनेली (२०८०) लगायतका कृतिहरू प्रकाशित छन्। आफ्नै शब्द, स्वर र लयमा सिर्जना प्रस्तुत गर्दै उनले नेपाली छन्दकविताको उत्थानमा उल्लेखनीय योगदान दिएका छन्।

‘विशिष्ट छन्दसाधना पुरस्कार’सहितको राशि रु. ४० हजार र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’सहितको राशि रु. २० हजारसहित दुवै पुरस्कार प्रमाणपत्रसहित एक विशेष कार्यक्रममा प्रदान गरिने ‘छन्द–तरङ्ग’का संयोजक प्रा.डा. देवी नेपालले जानकारी दिनुभयो।

२०७५ सालदेखि मासिक रूपमा सञ्चालन हुँदै आएको ‘छन्द–तरङ्ग’को ऐतिहासिक कविताश्रवण कार्यक्रम कोभिड–१९ का कारण १९ औँ शृङ्खलापछि स्थगित भए पनि पुरस्कार वितरण भने निरन्तर भइरहेको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array