शर्मा, मेयर बुढाथोकीसहितका घर र मेचीनगर नगरपालिका कार्यालयमा आगजनी

 

बिर्तामोड,२४ भदौ :

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको घरमा  आगजनी र तोडफोड भएको छ ।

जेनजीका प्रदर्शनकारीहरुले झापा–१ बाट निर्वाचित सांसद शर्माको मेचीनगर–९ धुलाबारीस्थित निवासमा आक्रमण गरी तोडफोड र आगजनी गरेका हुन् । सो क्रममा नगरप्रमुख बुढाथोकी र अधिकृत वस्तीको घरमा पनि तोडफोडसहित आगजनी भएको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै, मेचीनगर वडा नम्बर ९ र वडा नम्बर ६ को कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । काँकरभिट्टा बजारमा बिहानै विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी नगरपालिका कार्यालयमा पुगेपछि भवन, गाडी तथा भौतिक संरचनामा तोडफोड गरेका थिए । गेट अगाडिबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीमाथि ढुंगा प्रहार भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिन खोजेको थियो ।

प्रदर्शनकारीहरुले नगरपालिका कार्यालयको ढोका, झ्याल, पर्खाल र गाडीमा क्षति पुर्‍याउनुका साथै भवनमा गएर नेपालको झण्डा समेत राखेका थिए । दिउँसो पुनः आएका प्रदर्शनकारीले कार्यालयमा ठूलो मात्रामा तोडफोड र आगजनी गरेका छन् ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशव्यापी भ्रष्टाचार, बेथिति र नेताहरुकै विलासी जीवनशैलीविरुद्ध जेनजी समूहले सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज विभिन्न जिल्लामा प्रदर्शन तीव्र बनेको छ ।

उक्त घटनासँगै सत्तारूढ दल र विपक्षी दलका नेताहरुकै निवासमा आक्रमण, तोडफोड र आगजनी भइरहेको बताइएको छ । यसैबीच, गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसक्नुभएको छ  यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array