झापा, भदौ ३०,
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण झापाका अधिकांश स्थानीय तहको प्रशासनिक सेवा अवरुद्ध भएको छ। कचनकवल गाउँपालिका, मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकाले तत्काल सेवा प्रवाह गर्न नसक्ने जनाएको छन्।
कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले भवन, फाइलदेखि कुर्सीसम्म जलेको बताउँदै तत्काल सेवा दिने अवस्था नरहेको स्पष्ट पारे। “भएको सबै जलेको छ, तोडफोड भएको छ। हामीसँग एउटा कलम र बस्न कुर्सीसम्म छैन। कतिपय ठाउँमा प्रहरी समेत फर्किएका छैनन्,” उनले भने, “अत्यावश्यक सेवा दसैँअघि सुरु होला, तर पूर्ण रूपमा सेवा प्रवाह गर्न केही समय लाग्छ।”
मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्रशासनिक भवन र वडा कार्यालयहरूमा क्षति पुगेका कारण तत्काल सेवा दिन नसकिएको बताए। उनले कार्यपालिका बैठक बसेर मात्रै सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
यस्तै, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज साहले गाउँपालिकाको भवन र वडा कार्यालयहरू ध्वस्त भएकाले तत्काल सेवा प्रवाह गर्न असम्भव रहेको बताए। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भने केही दिनपछि प्राथमिकताका आधारमा सामान्य सिफारिस जस्ता काम गर्ने तयारी भइरहेको बताए।
यसबीच, दमक नगरपालिकाले भने मंगलबारदेखि वडा कार्यालयमार्फत सेवा दिने जनाएको छ। नगरपालिकाको कार्यालय भवन जले पनि वडा कार्यालयहरूमा क्षति नभएकाले त्यहीँबाट सेवा सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए। “मंगलबारदेखि वडा कार्यालयमार्फत सेवा दिनेछौं। कर्मचारीहरूले सरसफाइ कार्य सुरु गरेका छन् र विकल्प खोजेर चाँडै नियमित सेवा प्रवाह गर्ने तयारी भएको छ,” उनले बताए।
आन्दोलनपछि झापाका स्थानीय तहहरूमा नागरिकलाई पाउने प्रशासनिक सेवा प्रभावित बनेको छ भने केही पालिकाले वैकल्पिक व्यवस्था खोज्दै सेवा सञ्चालन गर्ने तयारी गरेका छन





