बिर्तामोड नगरपालिकाले लुटिएका सामग्री फिर्ता गर्न आग्रह

 

बिर्तामोड, भदौ ३१(पूर्व खबर)
बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका सामग्रीहरू तत्काल फिर्ता गर्न नगरवासीलाई आग्रह गरेको छ।

नगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा भदौ २३ र २४ गते ‘जेनजी’ समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित व्यक्तिहरूले नगरपालिका र वडा कार्यालयहरूबाट फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामान लुटेको भन्दै ती सामग्रीहरू इमान्दारीपूर्वक फिर्ता गर्न आग्रह गरिएको छ।

सूचनामा तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान अघि बढाइने र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया सञ्चालन गरिने उल्लेख गरिएको छ। नगरपालिकाले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले आन्दोलनका कारण ठूलो जनधनको क्षति भएको बताउँदै दुःख व्यक्त गर्नुभयो। उहाँले आज नगर अस्पतालमा बसेको नगर कार्यपालिकाको बैठकमा आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो।

बैठकले प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्ने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ। यस्तै, आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दशैं र तिहारको बिचमा पनि विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ।

शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने विषयमा समेत कार्यपालिकाले निर्णय गरेको छ।

नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने जनाएको छ। वडा कार्यालयसहितको क्षतिको विवरण संकलन भइरहेको र आवश्यक मूल्यांकनपछि सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले भोलिदेखि नगरपालिका कार्यालयमा सरसफाइ कार्य सुरु हुने बताउनुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहकार्यमा क्षतिग्रस्त भवन सफा गरी सेवा पुनःस्थापित गर्ने पहल थालिने उल्लेख गर्नुभयो।

यसैबीच, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बु, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीसहितको टोलीले आज क्षतिग्रस्त नगर कार्यालयको निरीक्षण गरेको छ। निरीक्षण टोलीले सुरक्षात्मक व्यवस्था कडाइ गर्ने, प्रभावित क्षेत्र सफा गर्ने र क्षति विवरण संकलनमा सहयोग गर्ने आश्वासन दिएको छ।

नगरपालिकाले नगरवासीलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गर्दै आन्दोलनका क्रममा लुटिएका सामग्री फिर्ता गर्न पुनः जोड दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array