राजकुमार ओली,बिर्तामोड, १० असोज(पूर्व खबर)
बिर्तामोड नगरपालिका–३ स्थित आनारमनि प्रहरी चौकी पुनर्निर्माण तथा समुदाय–प्रहरी सम्बन्धलाई अझ प्रगाढ बनाउन स्थानीय तथा प्रवासी नेपालीको सक्रिय सहयोग जुट्न थालेको छ।
बिहीबार एक कार्यक्रमका बीच चौकी पुनर्निर्माणका लागि बिराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रु.२५ हजार, बिराट सामुदायिक सिकाइ केन्द्रले रु.५ हजार, समाजसेवी दाइ दुर्गा काफ्लेले रु.५ हजार, क्यानडामा रहेका उनका भतिज राजन काफ्लेले करिब रु.४० हजार बराबरको निर्माण सामग्री हस्तान्तरण गरेका छन्।
कार्यक्रममा सहकारीका अध्यक्ष मोहन सिवाकोटी, कार्यकारी प्रमुख रुद्र सिटौला, चौकी ब्यवस्थापन समिति अध्यक्ष बिरेन कोइराला, समाजसेवी दुर्गा काफ्ले, चौकी निर्माण समिति संयोजक प्रवास थापा मगर, समाजसेवी कोसिस घिमिरे, राज मुखिया, सहकारीका व्यवस्थापक तेज पाठक, प्रहरी प्रतिनिधिसहित स्थानीयको उपस्थिति थियो।
यो प्रहरी चौकी विगतको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो। त्यसयता स्थानीय पहलमा अस्थायी रूपमा व्यवस्थापन गरी सेवा सञ्चालन हुँदै आएको छ। हाल आवश्यक जनशक्ति परिचालनमार्फत प्रहरी सेवामा निरन्तरता दिइए पनि स्थायी संरचना अभावका कारण प्रहरी र सर्वसाधारण दुवैलाई कठिनाइ हुँदै आएको स्थानीयले बताएका छन्।
पुनर्निर्माण अभियानलाई व्यवस्थित बनाउन निर्माण समिति गठन गरिएको छ। समितिले स्थानीय स्रोत, सहकारी संस्था, समाजसेवी तथा प्रवासी नेपालीबाट आर्थिक र भौतिक सहयोग संकलन गर्ने योजना अघि सारेको छ। तत्कालका लागि आवश्यक निर्माण सामग्री जुटाउन थालिएको र निकट भविष्यमा स्थायी भवन निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको निर्माण समिति संयोजक प्रवास थापा मगरले जानकारी दिए।
स्थानीय बासिन्दाले प्रहरी सेवासँगै अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र समुदाय–प्रहरी सम्बन्ध सुदृढ बनाउन चौकी पुनर्निर्माणलाई प्राथमिकता दिएको जनाएका छन्। सहकारीका अध्यक्ष सिवाकोटीले समुदाय र सुरक्षाबलबीच सहकार्यको उदाहरण यस चौकी पुनर्निर्माण अभियानले प्रस्तुत गरेको उल्लेख गर्दै थप सहयोगका लागि आग्रह गर्नुभयो।
यसरी जुटाइएको सहयोग र स्थानीय सहभागिताले चौकीको स्थायी संरचना निर्माण कार्य चाँडै अघि बढ्ने र आगामी दिनमा प्रहरी–समुदाय सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।



