फुलपातीको दिनबाट देशव्यापी रुपमा ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा

 

राजकुमार ओली, १० असोज
नेपाली हास्य–व्यङ्ग्य क्षेत्रका चर्चित पात्र हरिबहादुर फेरि ठूलो पर्दामा देखिन लागेका छन्। मह जोडीका रूपमा चिनिएका कलाकारहरूमध्ये हरिवंश आचार्य अभिनीत नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ यही असोज १३ गते (फुलपातीको दिन) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ। झण्डै तीन दशक लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहँदै आएका झापाका कलाकार, निर्माता तथा गायक सरोज ओलीको लगानीमा बनेको यस चलचित्रलाई नेपाली चलचित्र जगत्मा निकै महत्वपूर्ण कडीका रूपमा लिइएको छ।

निर्माता ओलीले दर्जनौँ म्युजिक भिडियोमार्फत आफ्नो पहिचान स्थापित गरिसकेका छन्। उनका प्रायः म्युजिक भिडियो करोड क्लबसम्म पुगेका छन् भने सरकारी विज्ञापन, सन्देशमूलक छोटकरी फिल्म र गीत–संगीतका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहँदै आएको छ। लामो समय संगीत र कला क्षेत्रमा रमाउँदै आएका उनी यो पटक भने फरक धारमा उभिँदै चलचित्र निर्माणमा होमिएका हुन्।

यसपटक उनले मह जोडीका आधा हिस्सा हरिवंश आचार्यसँग सहकार्य गर्दै ‘हरिबहादुरको जुत्ता’ निर्माण गरेका छन्। हरिवंश आचार्यले आफैं लेखेको कथा, पटकथा र संवादमा आधारित यस चलचित्रमा उनी मुख्य भूमिकामा प्रस्तुत भएका छन्। चर्चित टेलिसिरियल हरिबहादुर–मदनबहादुर बाट लोकप्रिय भएको पात्र हरिबहादुर लाई नयाँ रूपले पुनःजिवित पार्दै यस चलचित्रलाई आम दर्शकमाझ ल्याइने तयारी गरिएको हो।

चलचित्रको कथावस्तु नेपाली समाजको समसामयिक राजनीतिक वास्तविकता, हास्य–व्यङ्ग्य, सामाजिक चेतना र मानवीय संवेदना सँगै मार्मिक मोडमा घुमेको छ। निर्माता ओली भन्छन्, “यो फिल्मले दर्शकलाई हसाउँछ पनि, र सोच्न बाध्य पार्ने सन्देश पनि दिन्छ। सामाजिक र राजनीतिक व्यङ्ग्य मार्फत प्रस्तुत भएकाले यसले सबै पुस्तालाई छुनेछ भन्ने विश्वास छ।”

यस चलचित्रमा प्रमुख कलाकारका रूपमा हरिवंश आचार्यसँगै श्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, मोहितवंश आचार्य, किरण केसीलगायतका नाम समावेश छन्। त्यस्तै, झापाकै प्रतिभा याम खरेल र बालकृष्ण ओलीको पनि महत्वपूर्ण भूमिका रहने भएको छ।

‘हरिबहादुरको जुत्ता’ लाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। ‘पशुपतिप्रसाद’ जस्तो सुपरहिट फिल्म निर्देशन गरेर चर्चामा आएका खनालले यस चलचित्रलाई पनि आफ्नै मौलिक शैलीमा पर्दामा उतारेका छन्। यसले चलचित्रलाई अझै दर्शक नजिक पुर्‍याउने विश्वास लिइएको छ।

यस•एम•मोशन पिक्चर्सको व्यानरमा बनेको चलचित्रको छायांकन काठमाडौँ, काभ्रेपलाञ्चोकलगायतका आकर्षक स्थलमा गरिएको छ। चलचित्रमा समावेश दुई गीत ‘वेला बितेसी’ र ‘नजरमा तिम्रो मोहनी’ पहिले नै सार्वजनिक भइसकेका छन्। यी दुवै गीत सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल भइसकेका छन्, जसले चलचित्रप्रति दर्शकको उत्साह अझै बढाएको छ।

मह जोडीको पछिल्लो मार्मिक प्रस्तुति मानिएको यस चलचित्रलाई हँसिलो शैलीमा प्रस्तुत गरिएको भए पनि यसको मूल गहिराइ भने मानवीय संवेदना, सामाजिक न्याय र राजनीतिक परिघटनाको व्यङ्ग्यात्मक चित्रणमा केन्द्रित रहेको छ। फिल्म समीक्षकहरूका अनुसार, ‘हरिबहादुरको जुत्ता’ मह जोडीको विगतका प्रस्तुतीजस्तै मात्र होइन, नयाँ पुस्ताका दर्शकलाई समेत स्पर्श गर्ने गरी तयार भएको छ।

निर्माता ओलीले चलचित्रलाई देशव्यापी रूपमा प्रदर्शन गरिने जानकारी दिँदै यसले नेपाली चलचित्र उद्योगलाई थप बल पुर्‍याउने अपेक्षा राखेका छन्। “दशैंको पावन अवसरमा आउने यस चलचित्रले हाँसो मात्र होइन, गहिरो सन्देश पनि दिनेछ। यो चलचित्रले मह जोडीको योगदानलाई अझै ऐतिहासिक बनाउनेछ भन्ने मेरो दृढ विश्वास छ,” उनले भने।

फुलपातीको दिनदेखि प्रदर्शनमा आउने ‘हरिबहादुरको जुत्ता’ नेपाली चलचित्र क्षेत्रकै विशेष उपहारका रूपमा प्रस्तुत हुने भएको छ। सामाजिक तथा राजनीतिक चेतनासँगै पारिवारिक मनोरञ्जनको खुराक दिने यस चलचित्रले मह जोडीको लोकप्रियतालाई नयाँ पुस्तासम्म पु¥याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *