हामी दृष्टिविहीन नागरिकहरू,
आज फेरि एकपटक तपाईंसामु बोल्न बाध्य भएका छौँ ।
यो शहर हाम्रो पनि हो, यो सडक हाम्रो पनि हो, तर जब हामी बिर्तामोडबाट बिर्ताबजारतर्फ पाइला चाल्छौँ, हामीलाई लाग्छ -यो शहरले हामीलाई स्वीकार गर्न अझै बिर्सिरहेको छ ।

सडक पेटी भन्ने शब्द कानमा मिठो लाग्छ -सुरक्षित, सुविधाजनक र सबैको लागि खुला ठाउँ । तर हाम्रो अनुभव त्यसको ठीक उल्टो छ ।

हामीलाई भेटिन्छ:
– बिजुलीका तारको झुण्ड जसले हाम्रा हात छेड्छन् ।
– इन्टरनेटका केबल जसमा हाम्रो लठ्ठी फस्छ ।
– खाल्डाखुल्डी जसमा हाम्रो पाइला ठोक्किन्छ ।
– बिजुलीको पोल जसले बाटो रोकिन्छ ।
– फूल रोपिएका तारजाली जसले सौन्दर्यको नाममा हाम्रो बाटो बन्द गर्छ ।

यो सबै अव्यवस्था मिलेर सडक पेटीलाई ‘सडक पेटी’ नभई जोखिमको थलो बनाइदिन्छ ।

प्रहरीलाई हाम्रो प्रश्न
“प्रहरीज्यू, तपाईं हाम्रो सुरक्षाका पहरेदार भन्नुहुन्छ । तर हामी सडक पेटीमा हिँड्दा बारम्बार तारमा फस्छौँ, पोलसँग ठोक्किन्छौँ, खाल्डोमा लड्छौँ । कहिले हामीलाई ट्राफिकले धकेल्छ, कहिले मोटरसाइकलले साइडबाट ठक्कर दिन्छ ।
के हाम्रो जीवन सुरक्षाभित्र पर्दैन ? तपाईं किन मौन हुनुहुन्छ ? अव्यवस्थित तारहरूले मृत्यु डोर्‍याएपछि मात्र प्रहरी जाग्ने हो ?”

मेयरलाई हाम्रो प्रश्न

“नगर प्रमुख पवित्रा महतारा प्रसाईज्यू, तपाईं सौन्दर्यका नाममा सडक पेटीमा फूल रोप्नुभयो । तर त्यो फूलको घेराबारले हामीलाई बाटो काट्नै नसक्ने बनाइदिएको छ ।
हामीलाई रोक्ने, अड्काउने र ठोक्काउने फूललाई के सौन्दर्य भन्न सकिन्छ ? सौन्दर्य शहरका आँखाले देख्नेहरूका लागि मात्र हो ? दृष्टिविहीन हामीलाई अड्काउने संरचना सौन्दर्य होइन, पीडाको पर्खाल हो । हामी नगरवासी हौँ, कर तिर्छौँ, तर हाम्रो पहुँचलाई किन बन्धक बनाइयो ? नगरपालिकाले हाम्रो अधिकारलाई किन सौन्दर्यमा बेचिदियो ?”

सडक विभागलाई हाम्रो प्रश्न

“सडक विभागका अधिकारीज्यू, तपाईंले सडक पेटी बनाउनुभयो, तर त्यो प्रयोगै गर्न नसकिने बनाउनुको अर्थ के हो ? सडक पेटी हाम्रो लागि सुरक्षित मार्ग हुनुपर्नेमा, आज त्यो खतरनाक जाल बनेको छ । दृष्टिविहीनका लागि ‘accessible sidewalk’ निर्माण गर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ, हाम्रो संविधानले पनि सबैलाई समान पहुँचको ग्यारेन्टी दिएको छ । तर तपाईंले त्यो दायित्व पूरा गर्नुभएन । हामीलाई बाटो प्रयोग गर्नै नसक्ने संरचना दिनु -यो त केवल कर्तव्यको उपेक्षा मात्र होइन, हाम्रो अधिकारको अपमान हो ।”

हाम्रो सामूहिक आवाज

हामी दृष्टिविहीनहरू दिनहुँ बाँच्ने संघर्षमा थकित छौँ ।
हामीलाई समाजले ‘असक्षम’ भन्छ, तर असक्षम त संरचना बनाउने प्रणाली हो ।
– हामी सक्षम छौँ, यदि बाटो सक्षम हुन्छ ।
– हामी स्वतन्त्र हिँड्न सक्छौँ, यदि सडक पेटी स्वतन्त्र हुन्छ ।

तर अहिलेको अवस्था के छ भने:
– सडक पेटी हाम्रो लागि खुला ठाउँ नभई जोखिमको जाल हो ।
– शहर हाम्रो लागि घर नभई बाधाको कारागार हो ।

हामी यसलाई केवल पूर्वाधारको अव्यवस्था मात्र मान्दैनौँ, यो हाम्रो मानव अधिकार माथिको प्रत्यक्ष प्रहार हो ।

अन्तिम चेतावनी

आज हामीले आवाज उठायौँ । भोलि यो आवाज कानमा नपुग्दा, दुर्घटना बढ्नेछ । तेस्रो दिन, यो शहरले आफ्नै दृष्टिविहीन नागरिकलाई गुमाउनेछ । र त्यो दिनको जिम्मा कसले लिने?

– प्रहरीज्यू, तपाईं मौन बसिरहनुहुन्छ भने -हामीलाई दुर्घटनामा धकेल्ने अपराधमा तपाईं पनि सहभागी ठहर्नुहुनेछ ।
– मेयरज्यू, तपाईंले सौन्दर्यलाई हाम्रो अधिकारभन्दा माथि राख्नुहुन्छ भने -हामीलाई बन्धक बनाउने निर्णयमा तपाईं पनि दोषी ठहर्नुहुनेछ ।
– सडक विभागका अधिकारीज्यू, तपाईंले कानुनी दायित्व बेवास्ता गर्नुभयो भने -हाम्रो पीडाको हिसाब तपाईंलाई भविष्यले माग्नेछ ।

हाम्रो निष्कर्ष

 

हामीले मागेको केवल एक कुरा हो –
सुरक्षित, पहुँचयुक्त र प्रयोगकर्ता-मैत्री सडक पेटी ।

यो माग विलासिता होइन, हाम्रो जीवनसँग गाँसिएको अनिवार्य आवश्यकता हो । हामी बाध्य भएर फेरि भन्न चाहन्छौँ-
सडक हाम्रो पनि हो ।
हाम्रो पहुँच पनि बराबरी हुनुपर्छ ।
हाम्रो जीवन पनि सुरक्षित हुनुपर्छ ।

दृष्टिविहीन नागरिकहरूको सामूहिक आवाज,
बिर्तामोड-भद्रपुर सडक खण्ड प्रयोगकर्ताहरू

-विवेक केशरी प्रसाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *