दुर्वेशनी र अवैध कारोबारमा सिडियो कार्यालय कडा एक्सनमा उत्रिन्छ-गेलाल

झापा, कात्तिक १७ ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिव राम गेलालले पछिल्लो समय बढ्दो असुरक्षा र जेन्जी आन्दोलनपछि देखिएका घटनाक्रमलाई प्रशासनले गम्भीर रुपमा लिएको बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय झापामा सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रशासन पूर्ण सक्रिय रहेको बताए।

सिडिओ गेलालले हाल जिल्लामा लागूपदार्थ दुव्र्यसन र अवैध कारोबारका घटना बढ्दै गएकाले त्यसविरुद्ध कडा कदम चालिएको बताए। उनले भने, “लागूपदार्थ नियन्त्रण हाम्रो प्रमुख प्राथमिकता हो। यसले समाजमा सिर्जना गर्न सक्ने आपराधिक गतिविधि र हिंसात्मक वातावरणलाई रोक्न प्रशासन तत्पर छ।” उनले प्रहरीले समेत निगरानी र नियन्त्रणका अभियानलाई तीव्र बनाएको जानकारी दिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि पछिल्लो घटनाक्रम, जेन्जी आन्दोलनपछि देखिएका सुरक्षासम्बन्धी चासो र प्रशासनको भूमिकाबारे प्रश्न राखेका थिए। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओलीले जनतामा प्रशासनप्रतिको विश्वास बढाउन सूचना प्रवाह पारदर्शी हुनुपर्नेमा जोड दिए।

त्यस्तै, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जिल्लामा शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रशासनबीच सहकार्य आवश्यक रहेको बताए। महासंघका सचिव राजु पाठकले पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमार्फत फैलाइएका हल्लाले वातावरणमा त्रास सिर्जना गरेको भन्दै सत्य सूचनाको शीघ्र प्रवाहमा प्रशासन जिम्मेवार हुनुपर्ने सुझाब दिए।

सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले महिलामाथि हुने हिंसा र अपराधका घटनामा पनि प्रशासनको ध्यानाकर्षण गराइन्। उनले सञ्चार माध्यमले जनचेतना फैलाउने काम गर्दै आए पनि सुरक्षा निकायले ती विषयमा तत्काल प्रतिक्रिया जनाउनुपर्ने बताइन्।

पूर्व अध्यक्ष चिन्तामणि दाहालले जिल्लामा हुने आन्दोलन र विरोध प्रदर्शनका क्रममा दुवै पक्षले संयमता अपनाउनुपर्ने सुझाव दिए। उनका अनुसार, “प्रशासन र नागरिकबीच संवादको पुल मजबुत भए मात्र विकास र स्थायित्व सम्भव हुन्छ।”

अन्तर्क्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लामा कानून-व्यवस्था सुदृढीकरण, सवारी सुरक्षा, रात्री गस्ती र युवाबीच बढ्दो लागूपदार्थ सेवन नियन्त्रणबारे विभिन्न सुझाव दिएका थिए।

सिडिओ गेलालले अन्त्यमा सबै सरोकारवालाको सुझावलाई गम्भीरताका साथ कार्यान्वयनमा ल्याइने बताउँदै जिल्लाको शान्ति, सुरक्षा र सुशासनका लागि सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array