cURL Error: 0 गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानद्वारा ५० हजार राशिको पुरस्कार प्रदान गरिने - पूर्व खबर

गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानद्वारा ५० हजार राशिको पुरस्कार प्रदान गरिने

झापा । झापाका वरिष्ठ पत्रकार, साहित्यकार तथा समाजसेवी गोपीकृष्ण खनालको सम्झनामा स्थापना गरिएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले यस वर्ष समाजसेवा क्षेत्रबाट एकजना उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ।

२०७५ साल साउन ३ गते भएको सडक दुर्घटनामा खनालको असामयिक निधन भएको थियो। उहाँको स्मृतिमा परिवारजनले स्थापना गरेको यो प्रतिष्ठानले प्रत्येक दुई वर्षमा समाजमा उल्लेखनीय योगदान पुर्‍याउने एकजना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

प्रतिष्ठानका अध्यक्ष मनोज खनालका अनुसार “गोपीकृष्ण खनालको जीवन आदर्श र निस्वार्थ सेवाभावको प्रतीक थियो। उहाँको स्मृतिलाई जीवित राख्ने उद्देश्यले यो सम्मान कार्यक्रमको निरन्तरता दिइँदै आएको हो।”

यसपटक समाजसेवा तर्फबाट एकजना समाजसेवीलाई विशेष सम्मानसहित ५० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव एवम् लेखक–पत्रकार तीर्थ सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी पुस २९ गते, स्वर्गीय खनालको जन्मजयन्तीका दिन एक समारोहबीच पुरस्कार वितरण गरिनेछ।

यसअघि सो प्रतिष्ठानले पत्रकारिता तर्फबाट नकुल काजी र साहित्य तर्फबाट कोमल पोखरेललाई सम्मान प्रदान गरिसकेको छ।

सचिव सिग्देलका अनुसार यसपटकको पुरस्कारका लागि झापाका १५ वटै स्थानीय तह र विभिन्न संघ–संस्थाहरूसँग योग्य व्यक्ति शिफारिसका लागि पत्राचार गरिएको छ। शिफारिसको मापदण्डअनुसार पुरस्कारका लागि व्यक्ति कम्तीमा १० वर्षदेखि निस्वार्थ भावले समाजसेवामा सक्रिय, कुनै राजनीतिक दल, समुदाय वा वर्गीय पक्षपातमा नलागी निरन्तर सामाजिक कार्यमा समर्पित हुनुपर्नेछ। शिफारिस कार्तिक मसान्तभित्र पठाउनुपर्ने जानकारी दिइएको छ।


गोपीकृष्ण खनालको जीवन र योगदान

स्वर्गीय गोपीकृष्ण खनाल झापाका अग्रज पत्रकार, लेखक तथा सामाजिक अभियन्ता हुनुहुन्थ्यो। उहाँले आफ्नो करिब तीन दशक लामो पत्रकारितामार्फत स्थानीय जनजीवनका सवाल, सामाजिक सचेतना र ग्रामीण आवाजलाई देशव्यापी मञ्चमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो।

खनालले झापाको सञ्चार क्षेत्रमा आधारभूत भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई प्रेरित गर्नुभएको थियो। उहाँ सक्रिय समाजसेवीका रूपमा विभिन्न सामुदायिक कार्यक्रम, शैक्षिक संस्था तथा सामाजिक अभियान्तामा निरन्तर संलग्न रहनुभएको थियो।

सहज, संवेदनशील र निष्ठावान व्यक्तित्वका रूपमा चिनिने खनालले ‘पत्रकारिता समाजको ऐना हो’ भन्ने विश्वासमा जीवनभर लेखनी चलाउनुभयो। उहाँको स्मृतिमा स्थापना भएको यो प्रतिष्ठानले उहाँको आदर्शलाई निरन्तरता दिँदै स्थानीय प्रतिभा र सेवाभावी व्यक्तित्वको पहिचानमा उल्लेखनीय योगदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *