मेचीनगर, २४ कात्तिक — नेकपा (एमाले) मेचीनगर नगर कमिटीले संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकारको खारेजीको मागसहित बुधबार मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरेको छ।
पार्टीका नगर अध्यक्ष राजु कार्कीका अनुसार र्याली धुलाबारीदेखि चारआलीसम्म सञ्चालन हुनेछ र कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अपेक्षा गरिएको छ।
आज धुलाबारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले पार्टीले संविधानले नचिनेको पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको खारेजी र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो। उहाँले नेकपा (एमाले) जननिर्वाचित सरकारविरुद्ध भइरहेको गतिविधिलाई प्रतिगामी चलखेल र षड्यन्त्रको संज्ञा दिनुभयो।
कार्कीले जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले जेनजीहरूले कहिल्यै पनि जननिर्वाचित सरकारको बहिर्गमन र संसद् विघटनको माग नगरेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकारहरू विष्णु प्रसाई, हरिचरण बानियाँ र भीम खवास, मेचीनगर इञ्चार्ज देबकुमार राई, जिल्ला सदस्य दुर्गा धमला र कृष्ण कनाल, युवा संघ नगर अध्यक्ष विवेक खवास, अनेरास्ववियू केन्द्रीय सदस्य सन्तोष धमला, र जेनजी नेतृ दिपीश कँडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पार्टीका नगर उपाध्यक्ष एवम् वडा अध्यक्ष कञ्चन तामाङले गर्नुभएको थियो।





