दमक, २४ कात्तिक —
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार असंबैधानिक भएको दाबी गर्दै यसबाट लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अघि बढ्ने अपेक्षा गर्न नसकिने बताएका छन्।
प्रेस चौतारी नेपाल झापाले सोमबार दमकमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै दाहालले सरकारले चुनाव गराउने तयारीमा कमजोरी देखाएको आरोप लगाए। उहाँले भन्नुभयो, “सुरक्षा निकायबाट खोसिएका हतियार र भागेका अपराधीहरू खुलेआम हिँडिरहेका बेला यो सरकारले निष्पक्ष चुनाव कसरी गराउँछ?”
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनुभएका दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको कानुनी औचित्य नै नरहेको उल्लेख गर्दै अलोकतान्त्रिक सरकारबाट प्रतिनिधि सभा विघटनसमेत असंवैधानिक ढंगले गरिएको बताए।
उहाँले अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव हुने बताउँदै त्यसका लागि एमाले जनतामाझ सशक्त रूपमा अघि बढेको जानकारी दिए। साथै, जेन–जी आन्दोलनका मागहरू संसद् पुनर्स्थापनापछि गठन हुने वैधानिक सरकारबाट पूरा हुने दाबी गरे।
दाहालले जेन–जी आन्दोलनमा हिंसात्मक गतिविधि भड्काउने उद्देश्यले घुसपैठ गरिएको आरोप लगाउँदै तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीमा ल्याउन ढिलाइ नगर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापा, जिल्ला उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल र अनेमसंघ जिल्ला अध्यक्ष लिला दाहाल लगायतको सहभागिता रहेको थियो।





