प्रहरी अधिकारी उप्रेतीको मेची महाकाली साइकल यात्रा सुरु

मेचीनगर, २५ कात्तिक (purwa khabar)

सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकबीचको सम्बन्ध तथा सीमा सुशासनका विभिन्न पक्षको अध्ययनका उद्देश्यसहित सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सोमबारदेखि ‘मेची–महाकाली साईकल यात्रा’ सुरु गरेका छन्।

झापाको मेची नाकाबाट प्रारम्भ भएको यो यात्रा करिब ४० दिनपछि कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न हुनेछ। सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी), त्यहाँ कार्यरत प्रहरीहरूको दैनिकी, अवस्था र सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका उपायहरूबारे स्थलगत जानकारी लिन उप्रेतीले यात्रा थालेका हुन्।

भारतसँग जोडिएका दशगजा नाकामार्ग हुँदै हुने यो यात्रा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंको अनुमतिमा सञ्चालन गरिएको हो। उप्रेती हाल सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् र उनी सीमा सुशासन विषयमा विद्यावारिधी (PhD) अध्ययनमा छन्। सोही अध्ययनलाई व्यवहारिक आधार दिनका लागि यात्रा उपयोगी हुने उनले बताए।

सीमाक्षेत्रमा रहेका २१९ वटा बीओपी तथा प्रहरी युनिटमा पुग्दै उप्रेतीले स्थानीय प्रहरी, नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने योजना बनाएका छन्। यसमार्फत सीमाक्षेत्रको सुरक्षा, आपसी सहयोग र समन्वयका विषयमा प्रत्यक्ष जानकारी लिने र अध्ययन प्रतिवेदन तयार पार्ने उनको लक्ष्य छ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले यात्रा उद्घाटन गर्दै सीमाक्षेत्रमा सुशासन र दुवै देशबीचको भाइचाराको सम्बन्ध सुदृढ बनाउन यो पहल ‘कोशेढुङ्गा’ सावित हुने विश्वास व्यक्त गरे। उनले सीमासम्बन्धी समस्याको समाधान र सुरक्षाको समन्वयमा यस्तो अध्ययन महत्वपूर्ण हुने बताए।

यात्रा प्रारम्भ कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा, सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र थापा, मेचीनगर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, भारतीय सुरक्षा अधिकारी र स्थानीयवासी सहभागी थिए।

कार्यक्रममा उपस्थितहरूले उप्रेतीलाई अविर, टीका, माला र खादा पहिर्याएर यात्राको सफलताको शुभकामना दिएका थिए। प्रमुख भन्सार अधिकृत पौडेलले यात्राबाट प्राप्त निष्कर्षले सीमाक्षेत्रको सुरक्षा सुदृढ गर्न, आपराधिक गतिविधि रोकथाम र दुवै देशका सुरक्षाकर्मीबीचको समन्वय अझ प्रभावकारी बनाउन सघाउने विश्वास व्यक्त गरे।

सन् २०६८ सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उप्रेती हालै नायव उपरीक्षकमा बढुवा भएका हुन्। उनका मावली घर झापाको मेचीनगरमा र स्थायी बसोबास भक्तपुरको दुवाकोटमा रहेको छ।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नेपाल बीओपी नकलबन्दाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक सुरेश न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array