राजकुमार ओली, मेचीनगर
महिला हिंसा विरुद्धको १६ दिने अभियान पूर्वी नाका मेचीनगरबाट यस वर्ष औपचारिक रुपमा सुरु गरिएको छ। प्रभात–फेरीसहित सुरु भएको अभियानमा स्थानीय जनता, जनप्रतिनिधि, महिला समूह, प्रहरी, विद्यार्थी र विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
अभियानले नेपालमा बढिरहेका महिला हिंसाका घटनाप्रति जनचेतना अभिवृद्धि गर्न, समुदायस्तरमै रोकथामका कदम चाल्न र राज्य संयन्त्रलाई अझ सक्रिय बनाउन दबाब दिनु यसको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगरका पुरुष सञ्जालका अध्यक्ष मोहनकाजीले घरभित्रदेखि सार्वजनिक स्थानसम्म महिलामाथि हुने हिंसा समाजकै कलङ्क भएको बताए। “हामी पुरुषले नै परिवर्तनको नेतृत्व लिनुपर्छ,” उनले भने, “महिलामाथिको हिंसा कुनै परिवारको निजी विषय होइन, सम्पूर्ण समाजको प्रश्न हो। चेतना र व्यवहार परिवर्तन दुवै बिना हिंसा अन्त्य हुँदैन। पुरुष सञ्जाल जिम्मेवारीपूर्वक समुदायमा सकारात्मक भूमिका खेल्न तयार छ।”
उनीका अनुसार मेचीनगरका बस्ती–बस्तीमा ‘शून्य सहनशीलता’ अभियान बलियो रूपमा सञ्चालन गर्न, विद्यालय–कलेज स्तरमा भाइ–बहिनीलाई लक्ष्यित कार्यक्रम सञ्चालन गर्न र आर्थिक निर्भरता कम गर्न महिलाको सीप विकासमा सहयोग बढाउनुपर्ने आवश्यकता छ।
त्यसैगरी कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उप–प्रमुख मिना पोखरेल उप्रेतीले हिंसालाई केवल कानुनी मुद्दा नभई सामाजिक चेतनाको विषयका रूपमा बुझ्नुपर्ने बताइन्।
उनका शब्दमा, “हामीकहाँ पीडित बोल्न डराउँछन्, अपराधी सजिलै हिँड्छन्। यो असमानता अन्त्य गर्न स्थानीय सरकार, नागरिक समाज र सुरक्षाका निकायबीच समन्वय अझ मजबुत हुन आवश्यक छ।”
उनी भन्छिन्, “नगरपालिकाले हिंसा पीडितका लागि सुरक्षित आवास, सहज कानुनी सेवा र मनोसामाजिक परामर्शलाई विस्तार गर्दै आएको छ। तर समाजमा जागरण नबढेसम्म पीडितको मनको डर हट्दैन। त्यसैले १६ दिने अभियानले महिलालाई बोल्न, उठ्न र प्रतिरोध गर्न हौसला दिन्छ।”
अभियानको उद्घाटन गर्दै मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकीले हिंसा पूर्ण रूपमा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यक भएको जोर दिए।
उनले भने, “महिला हिंसा केवल एक व्यक्तिमाथिको अत्याचार होइन, यो विकासविरोधी संस्कार हो। हिंसाले प्रतिभा कुन्ठित गर्छ, परिवार टुटाउँछ र समाज नै कमजोर बनाउँछ।”
बुढाथोकीले मेचीनगरमा लैङ्गिक उत्तरदायी बजेट, महिला समूह सशक्तीकरण कार्यक्रम, आत्मरक्षा तालिम र जोखिममा परेका महिलाका लागि तत्काल उद्धार व्यवस्थालाई अझ प्रभावकारी बनाइने पनि बताए।
उनका अनुसार, “समग्र समुदाय मिलेर अघि बढे मात्र हिंसा विहिन मेचीनगर सम्भव छ। १६ दिने अभियानले हामीलाई गलत अभ्यास तोड्ने र सकारात्मक संस्कृति निर्माण गर्ने प्रेरणा दिन्छ।”
कार्यक्रममा सहभागीहरूले ‘हिंसा हैन, सम्मान चाहिन्छ’, ‘समान अधिकार, समान अवसर’ जस्ता प्ले–कार्डसहित प्रभात–फेरी प्रदर्शन गरेका थिए। स्थानीय विद्यालयका विद्यार्थी, महिला समूहका अगुवा, सुरक्षा निकायका प्रतिनिधि र युवा स्वयंसेवकहरूको सक्रियता अभियानभर उल्लेख्य देखिएको मेचीनगर नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख एवं कार्यक्रम संयोजक खरेलले बताइन्।
मेचीनगरबाट सुरु भएको १६ दिने अभियानलाई आगामी दिनमा विभिन्न विद्यालय, टोल, बजार क्षेत्र र संस्थागत कार्यक्रममार्फत निरन्तरता दिइने आयोजकले जनाएको छ। नगरवासीको सहभागिता र संयुक्त प्रतिबद्धतासँगै मेचीनगरले ‘हिंसा विहिन समाज’ निर्माणको लक्ष्यलाई बलियो आधार दिने अपेक्षा गरिएको छ।





