ग्रामीण सेवा समुदाय क्लबमा खुल्यो योग साधना केन्द्र, डा विकासानन्दले गरे उद्घाटन

राजकुमार ओली, १० मङ्सिर (पूर्व खबर),

अर्जुनधारा–६ मा अवस्थित ग्रामीण सेवा समुदाय क्लबले निर्माण गरेको ‘योग साधना केन्द्र’ आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। मनोक्रान्ति विश्व परिवारका संरक्षक डा. विकासानन्द (स्वामी विकासानन्द) ले पञ्चेबाजा र फूलमालासहितको भव्य स्वागतका बीच केन्द्रको उद्घाटन गरेका हुन्।

करीब ३० वर्षअघि स्थापना भएको ग्रामीण सेवा समुदाय क्लबले लामो समयसम्म सामाजिक सेवा र सामुदायिक अभियोजनमा सक्रिय भूमिका खेलेको छ। पछिल्ला वर्षहरूमा ध्यान, योग र मनोक्रान्ति अभ्यासप्रति मानिसहरूको आकर्षण बढ्दै गएपछि क्लबले आफ्नै भवनमा ‘योग साधना केन्द्र’ स्थापना गर्ने निर्णय गरेको थियो। यही निर्णय आज औपचारिक रूपमा कार्यान्वयन भएको हो।

उद्घाटन समारोहमा नगरवासी, अगुवा व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति थियो। अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले क्लबको दीर्घकालीन सोचाइप्रति प्रशंसा गर्दै भनिन्— “समाजलाई स्वस्थ, सकारात्मक र अनुशासित बनाउने मुख्य आधार ध्यान र योग हो। ग्रामीण सेवा समुदाय क्लबले जमिन स्थापना गरेर, भवन निर्माण गरेर र अब योग साधना केन्द्र स्थापना गरेर समाजका लागि अनुकरणीय कार्य गरेको छ।”

त्यसैगरी क्लबका संस्थापक वासुदेव ढुंगेलले संस्थाको स्थापना काल र चुनौतीहरूको स्मरण गर्दै क्लबले समुदायमा गरेको सेवाको इतिहास सुनाए। महासचिव तोयानाथ काफ्लेले कार्यक्रम सञ्चालन गर्दै वडा अध्यक्ष हरिश बास्तोला, माओवादी केन्द्रका सीपी कडरिया, मनोक्रान्ति अगुवाहरू मेहर मगर, सुमित्रा फुयाल, मनिषा अधिकारी, मणि रिजाल, टुसनाथ काफ्ले लगायतका वक्ताहरूलाई योगा ध्यान र स्वस्थ जीवनको विषयमा चर्चा गर्दै स्वागत गरेका थिए।

वक्ताहरूले स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक सकारात्मकता कायम राख्न ध्यान र योग सबैभन्दा प्रभावकारी अभ्यास भएको उल्लेख गर्दै केन्द्र सञ्चालनपछि समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।

उद्घाटनका विशेष वक्ता डा. विकासानन्दले ध्यान र योग अभ्यासले मानिसको मानसिक, शारीरिक र भावनात्मक जीवनमा ल्याउने परिवर्तनबारे विस्तृत रूपमा चर्चा गरे।

उनी भन्छन्— “ध्यान कुनै धार्मिक क्रिया होइन, यो चेतनालाई केन्द्रित गर्ने विज्ञान हो। मानिस तनावग्रस्त भएर होइन, भित्रैबाट शान्त भएर चल्न सिक्यो भने उसको बोली, व्यवहार र निर्णय दुवैमा स्पष्टता आउँछ। ध्यानले मनलाई केन्द्रित गर्छ, केन्द्रित मनले मात्र सही दिशामा काम गर्न सक्छ।”

उहाँले थपे— “आज समाजभित्र बढिरहेको उद्वेग, दुराग्रही राजनीति र पारिवारिक टकरावको मुख्य कारण मन असन्तुलित हुनु हो। ध्यान यही असन्तुलनलाई हटाएर बस्ती र राष्ट्र दुवैलाई सकारात्मक उर्जा दिने शक्ति राख्छ।”

स्वामी विकासानन्दले योग साधना केन्द्रमार्फत नगरवासीले नियमित योग, ध्यान, प्राणायाम र चरित्र निर्माणका कक्षाबाट प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।

ग्रामीण सेवा समुदाय क्लबको संरचना विस्तारमा संस्थापक  गोविन्द कलवारको विशेष योगदान रहेको बताइयो। उनका अनुसार क्लबको नाममा जग्गा प्राप्त भएपछि नेपाल सरकारको सहयोगमा पक्की भवन निर्माण, नगरपालिकाको सहयोगमा ट्रस्ट  तथा वडाको सहयोगमा टिन  लगाउने देखि अन्य कार्यहरू भएको  सहभागीहरूलाई जानकारी गराएको थियो । अब योग साधना केन्द्र स्थापनासँगै सामाजिक कार्यहरू अझ सुव्यवस्थित रूपमा अघि बढ्ने क्लबका अध्यक्ष एवं सामाजिक अभियानकर्मी योगेन्द्र चापागाईंले जानकारि दिएकाछन् ।

अध्यक्ष चापागाईंको सभापतित्वमा आयोजित कार्यक्रम मा नगर तथा वडाका सयौं नागरिकहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array