बिर्तामोड, झापा, … ।
नेकपा (एमाले) झापा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको मतगणना विवादपछि स्थगित गरिएको मतगणना पुनः सोमबार बिहानबाट सुरुदेखि नै गणना गर्ने निर्णय गरिएको छ। आइतबार बिहान २ः३५ बजे मतगणनाका क्रममा उत्पन्न विवादपछि प्रक्रिया रोकिएको थियो।
निर्वाचन समितिसँग भएको आन्तरिक सहमति अनुसार स्थगित मतगणना सोमबार बिहान ८ बजेदेखि प्रारम्भिक चरणबाटै पुनः सुरु गर्ने निर्णय भएको छ।
मतगणनाका क्रममा एक उम्मेदवारलाई परेको मतपत्रलाई अर्का उम्मेदवारको नाममा पढेको आरोप लगाइए पछि बिबाद शुरु भएको थियो ।
। उमेद्वार बलदेवसिंह गोम्देनलाई परेको मतलाई अन्य उम्मेदवारको नाममा उच्चारण गरिएको भन्दै आपत्ति जनाइएको थियो।
प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीसमेत रहेका एमाले नेता एकराज कार्कीले मतगणनाको विवादलाई सहजिकरण गरिएको र उत्पन्न अवस्थालाई समाधान गर्न पुनः गणनाको निर्णय गरिएको जानकारी दिए।
महाधिवेशन प्रतिनिधिको खुला तर्फको प्रतिस्पर्धामा मन्त्री कार्की, प्रदेश सांसद चिन्तन पाठक, एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरी, बिर्तामोड नगर प्रमुख सुवास भट्टराई, अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन र पेशागत महासंघका प्रदेश अध्यक्ष देवराज कार्कीबीच कडा प्रतिस्पर्धा देखिएको छ। खुल्लातर्फ १९ उम्मेदवारमध्ये पाँच प्रतिनिधि चयन हुनुपर्ने प्रक्रियामा यी ६ जनाबीच मुख्य प्रतिस्पर्धा रहेको छ।
मतगणना रोकिँदासम्म प्राप्त मत परिणामअनुसार एकराज कार्कीले १,२८१ मतसहित अग्रस्थानमा रहेका छन्। सुवास भट्टराईले १,१४१, प्रेमबहादुर गिरीले १,११३, चिन्तन पाठक र देवराज कार्कीले समान १,०६३–१,०६३ मत ल्याएका छन्। अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले १,०१७ मत ल्याएर पछिल्लो स्थानमा रहेको देखिएको छ।
गोम्देन पक्षले सदर मतलाई बदर मत गन्ती गरिएको र केही मतपत्र च्यातिएको आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्नुपर्ने अडान राखेका थिए। उनीहरूका आपत्तिपछि मतगणना प्रक्रिया रोकिएको थियो।
निर्वाचन व्यवस्थापन समितिले देखिएको विवाद समाधान हुनेगरी पुनः गणनाबाटै निष्कर्षमा पुग्ने तयारी जनाएको छ।



