विराटनगर, मंसिर १५ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मोरङमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री तथा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन्। विभिन्न सरकारी कार्यालयमा आक्रमण, भवन क्षति र आगजनीसम्बन्धी अनुसन्धानको क्रममा अन्सारीसहित पाँच जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।
मोरङ जिल्ला अदालत, विराटनगर महानगरपालिका र अन्य सरकारी कार्यालयमा तोडफोड, ढुंगामुढा र आगजनी गर्ने समूहको गतिविधिबारे प्राप्त सूचनाका आधारमा प्रहरीले अन्सारी, महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनारलाई पक्राउ गरेको मोरङ प्रहरी कार्यालयले जनाएको छ। जेनजी आन्दोलनको भीडमा घुसपैठ गरी अराजकतामूलक गतिविधि बढाएको आरोपसमेत उनीहरूमा लगाइएको प्रहरीले पुष्टि गरेको छ।
तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य अमनलाल मोदीका स्वकीय सचिवका रूपमा कार्यरत अन्सारी मन्त्री हुँदा पनि सोही जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा उनी विभिन्न स्थानमा प्रत्यक्ष रूपमा संलग्न रहेको देखिने भिडियो फुटेज सार्वजनिक भएपछि प्रहरीको निगरानी बढाइएको थियो। एक भिडियोमा अन्सारीलाई कोशी प्रदेश सभाभित्र आगजनीपछि नेपाल प्रहरीको टोपी लगाएर उल्लास व्यक्त गरेको दृश्यसमेत फेला परेको प्रहरीले जनाएको छ।
मोरङका विभिन्न सरकारी संरचनामा गरिएको हमला, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षतिको घटनामा संलग्न २१ जना यसअघिनै पक्राउ परिसकेका छन्। पछिल्ला दिनमा सामाजिक सञ्चारमाध्यममा सार्वजनिक दृश्य–विवरण तथा प्रत्यक्षदर्शीको संकेतका आधारमा अनुसन्धान थप विस्तार गरिएको प्रहरीको भनाइ छ।
आइतबार पक्राउ परेका पाँचैजनामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दफा अनुसार मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। आगजनी र तोडफोडका घटनाले राज्य संरचना र स्थानीय प्रशासनमा थप सुरक्षा सतर्कता अपनाउनुपर्ने अवस्था आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।





