विराटनगर,१५ मङ्सिर
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (आईसीएएन) को कोशी प्रदेश समितिको नेतृत्व चयन हुँदै नयाँ पदाधिकारी टोली चयन गरिएको छ। संघको कोशी प्रदेश समितिको अध्यक्षमा सीए सुशिल अग्रवाल निर्वाचित भएका छन्।
सचिवमा गुल्सन शर्मा तथा कोषाध्यक्षमा श्रीप्रसाद निरौला निर्वाचित भएका छन्। त्यस्तै रुपा सिघान्ची र मनिष श्रेष्ठ संघको कोशी प्रदेश समितिका सदस्यमा चयन भएका छन्।
त्यसैगरी नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ मोरङ जिल्लाको नेतृत्व पनि नयाँ रूपमा चयन भएको छ। मोरङ जिल्ला समितिको अध्यक्षमा सीए अश्विनी बंशल निर्वाचित भएका छन्। यसअघि बंशल नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ विराटनगर च्याप्टरका अध्यक्ष रहिसकेका थिए। मोरङ जिल्ला उपाध्यक्षमा अनन्त काफ्ले, सचिवमा रोशनकुमार यादव र कोषाध्यक्षमा युवराज उप्रेती रहेका छन्।
मोरङ जिल्ला समितिका सदस्यमा सञ्जय बंशल, किन्जल पोखरेल, दिवाकर अग्रवाल र अन्कित राय चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्य मुख्य अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवराज उप्रेती, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका केन्द्रीय अध्यक्ष अनुप नेपाल, तथा संघको कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष तिर्थप्रसाद यादवले संयुक्त रूपमा सम्पन्न गरेका थिए।
कार्यक्रममा संघको झापा र सुनसरी जिल्ला समितिमा हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। कोशी प्रदेश समितिले सोमबार विराटनगरमा आयोजना गरेको पदस्थापन समारोहमार्फत नवनिर्वाचित पदाधिकारीलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।
पदस्थापन कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष सुभाष आचार्यलगायत उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।





