राजकुमार ओली
बिर्तामोड, मंसिर २०
बंगलादेशमा बढ्दो हिंसा र राजनीतिक अस्थिरतापछि भारतहुँदै रोहिंग्या मुसलमानहरू नेपाल प्रवेश गर्ने आशंकासँगै झापा–पूर्वी सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ।
सीमा क्षेत्रमा सतर्कता बढाउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुङ्गीबाट थप एक सेक्सन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूले पुष्टि गरेका छन्।
झापाको मेचीनगरदेखि गौरीगञ्जसम्म फैलिएको करिब १४४ किलोमिटर लामो खुला सीमा पछिल्ला महिनाहरूमा सुरक्षा संवेदनशील क्षेत्रका रूपमा हेरिँदै आएको छ। यही कमजोरीको फाइदा उठाउँदै ‘गलत मानिस’ देशभित्र प्रवेश गर्ने जोखिम बढेपछि सीमा निगरानी सुदृढ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पुरानो मेचीपुल, भान्साखोला, तुर्केनी क्षेत्रमा ‘कडा निगरानी’
सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीलाई विशेषगरी पुरानो मेचीपुल, भान्साखोला, तुर्केनी, नकलबन्दा लगायतका खुला क्षेत्रमा केन्द्रित गरिएको छ।
प्रहरी अधिकारीका अनुसार मुख्य मार्गलाई मात्रै नभई दायाँ–बायाँका सबै पैदल मार्ग तथा ‘ब्लाइन्ड स्पट’ मा कडा निगरानी राख्ने गरी टोली परिचालन गरिएको हो।
“भारततर्फबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको परिचयपत्र अनिवार्य जाँच हुन्छ,” अधिकारीले भने, “शंकास्पद देखिने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्ने व्यवस्था मिलाइएको छ।”
बंगलादेशीहरूको अवैध आवतजावत रोक्न कडाइ
पछिल्लो समय बंगलादेशमा फैलिएको राजनीतिक तनाव र हिंसापछि भारतमार्ग हुँदै बंगलादेशी नागरिक नेपाल छिर्ने सम्भावना बढेको सुरक्षा स्रोतहरूले बताउँदै आएका छन्।
कहिलेकाहीँ भारतीय–बंगाली बनेर अवैध रूपमा नेपाल पस्ने घटनाहरू सार्वजनिक भएपछि स्थानीय प्रशासन थप सतर्क बनेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले भनेको छ—
“सूचना प्रणालीमा प्राप्त सम्भावित जोखिमका आधारमा सीमा नाकाहरूमा अतिरिक्त निगरानी, कडाइ र परिचयपत्र अनिवार्य जाँचको प्रणाली अघि बढाइएको हो।”
उच्च सतर्कतामा सुरक्षा निकाय
सशस्त्र प्रहरीद्वारा परिचालित नयाँ टोलीले
- सीमा मार्गको नियमित गस्ती
- शंकास्पद व्यक्तिको परिचय जाँच
- पैदल र वैकल्पिक बाटोबाट हुने सम्भावित प्रवेश रोकथाम
- सूचना संकलन र साझा समन्वय
जस्ता काममा ध्यान केन्द्रित गर्ने जनाइएको छ।
सुरक्षा निकायका अनुसार नेपाल–भारत सीमा खुला रहेको भए पनि अवैध आवतजावत, मानव तस्करी वा आपराधिक गतिविधि रोक्न कडाइ गर्नु बाध्यताजनक बनेको छ।
स्थानीयवासीले समेत पछिल्लो समय सुरक्षा उपस्थिति देखिन थालेको उल्लेख गर्दै सशस्त्र प्रहरीको सक्रियताले सीमा क्षेत्रमा सुरक्षा भरोसा पलाएको प्रतिक्रिया दिएका छन्।



