टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट भण्डारी घिमिरे र पूर्वेली पुरस्कृत

राजकुमार ओली,बिर्तामोड, २३मङ्सिर
“सुशासनकै बाटोबाट मात्र लोकतन्त्र मजबुत बन्छ, र सञ्चार क्षेत्र उज्यालोतर्फ अघि बढ्छ,” प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा बिर्तामोडमा आयोजित ‘टंक प्रसाद–रमादेवी स्मृति’ पत्रकारिता पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै भन्नुभयो। नेपाल पत्रकार महासङ्घ झापा शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तथ्य, प्रमाण र निष्पक्षतामा आधारित पत्रकारिता भ्रष्टाचारविरुद्धको प्रभावकारी हातियार बन्नेमा जोड दिनुभयो।

उद्घाटन मन्तव्यमा डा. आचार्यले थप भन्नुभयो, “सत्य र तथ्यमा आधारित समाचारले मात्र शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्न सक्छ। पत्रकारले आचारसंहिता र पेसागत मर्यादा पालन गर्न सके सञ्चार क्षेत्रप्रति जनविश्वास अझ उच्च बन्छ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काले भ्रष्टाचारविरुद्धको अभियानमा पत्रकारिता सबैभन्दा संवेदनशील र जिम्मेवार क्षेत्र भएको उल्लेख गर्दै भन्नुभयो,
“पत्रकारलाई चुनौती धेरै छन्, तर सत्य र तथ्य बोल्ने हिम्मतले नै लोकतन्त्रलाई जोगाउँछ। राज्यका कामकाजमा देखिने अनियमितता पहिचान गरी जनतालाई जानकारी गराउनु पत्रकारिताको नैतिक कर्तव्य हो।”
उनका अनुसार पारदर्शिता र सुशासनका मुद्दामा पत्रकारहरूको निरन्तर सक्रियता लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने माध्यम हो।

त्यस्तै, कार्यक्रमका अतिथि तथा प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृत श्री झरेन्द्र भुसालले पत्रकारितामा व्यावसायिकता र अनुसन्धानात्मक क्षमताको आवश्यकता जोड्दै भन्नुभयो,
“सूचना प्रवाहको गति बढेको आजको समय पत्रकारले प्रयोग, अनुसन्धान र तथ्य–पहिचानमा अझ सक्षम हुनुपर्छ। विश्वसनीय सूचना नै गलत प्रवृत्ति र भ्रष्टाचारलाई चुनौती दिन सक्ने प्रमुख आधार हो।”
उनले आचारसंहिता नटुट्न र सूचनाको गुणस्तर उच्च राख्न काउन्सिल निरन्तर सचेतना कार्यक्रम चलाइरहेको जानकारी गराउनुभयो।

कार्यक्रम झापा शाखाका अध्यक्ष एकराज गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहमा २०८१ सालका लागि राससकर्मी सुरेन्द्र भण्डारी र सञ्चारकर्मी हिन्दू पूर्वेलीलाई सम्मान प्रदान गरिएको थियो। सोही पुरस्कार २०८२ सालका लागि दमकका पत्रकार चिरञ्जीवी घिमिरेलाई प्रदान गरिएको शाखाले जनाएको छ। अविरल पत्रकारिता योगदानको कदरस्वरूप सम्मानपत्रसहित सम्मानित गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं साहित्यकार केशव आचार्य, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो। पुरस्कारप्राप्त पत्रकारहरूको कार्य, स्थानीय विषयमा उनीहरूको सक्रियता तथा तथ्यमा आधारित प्रस्तुतिबारे उपाध्यक्ष सुब्रत न्यौपाने र पत्रकार विनिशा शर्माले आ–आफ्नो धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको सन्दर्भमा आयोजित समारोहले पत्रकारिताले सुशासन प्रवर्द्धनमा निर्वाह गर्ने भूमिकाको पुनः स्मरण गराएको झापा शाखाले जनाएको छ। सहभागीहरूले सञ्चार क्षेत्र स्वतन्त्र, उत्तरदायी र तथ्य–आधारित रहे मात्र भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी हुनेमा एकमत जनाए।

समारोह समापन गर्दै अध्यक्ष गिरीले सम्मानित पत्रकारलाई बधाई दिँदै जिल्लाको पत्रकारिता अझ दिगो र जिम्मेवार बन्न शाखा निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array