cURL Error: 0 एमाले ११ औं महाधिवेशन : बन्दसत्रमा २ हजार ६१३ जनाको सहभागिता हुने - पूर्व खबर

एमाले ११ औं महाधिवेशन : बन्दसत्रमा २ हजार ६१३ जनाको सहभागिता हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र प्रतिनिधि सूचीकै चर्चा बढेको छ। महाधिवेशनका लागि प्रतिनिधिहरुको अध्यावधिक कार्य अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, सचिव माधव ढुंगेलसहितको टोली निरन्तर रूपमा प्रतिनिधि विवरण पुष्टि गर्ने काममा व्यस्त छ। अधिकारीका अनुसार हालसम्म २ हजार १ सय ५४ जना प्रतिनिधि विभिन्न तहबाट निर्वाचित भइसकेका छन्। यससँगै केन्द्रबाट १ सय ८ जनालाई मनोनयन गर्ने तयारी छ। मनोनितसहित कुल प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुग्ने जनाएको छ।

यसबीच, तत्कालीन नेकपा (एस)बाट ‘घरफर्क’ भएका तीन सदस्यले पनि प्रतिनिधि बन्ने चाहना सहित निवेदन दिएका छन्। उनीहरूको विषयमा अन्तिम निर्णय पार्टी सचिवालयले गर्नेछ।

धनकुटा र ओखलढुंगामा देखिएका समस्याहरू अब समाधान भइसकेको संगठन विभागले जानकारी दिएको छ। दुवै जिल्लामा पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार मापदण्ड नपुगेको भन्दै प्रतिनिधि चयन प्रक्रिया रद्द गरिनु परेको थियो। पुनः मापदण्ड पुर्याएर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको अधिकारीले बताए।

तर अन्य तीन जिल्लाबाट प्रतिनिधि छनोटसम्बन्धी उजुरी आइरहेका छन्। निर्वाचित प्रतिनिधिमाथि नै मापदण्ड नपुगेको गुनासो आएपछि विभाग छानबिनमा जुटेको छ। अधिकारी भन्छन्, “हामी कसैलाई पनि मापदण्डविपरीत कार्ड दिन्नौं। हालसम्म करिब ७० प्रतिशत प्रतिनिधि भेरिफिकेसन सकिएको छ।”

महाधिवेशनको बन्दसत्रमा प्रतिनिधि मात्र नभई सल्लाहकार परिषद्का सदस्यहरूको समेत उपस्थिति रहनेछ। परिषद्मा ३ सय ७६ सदस्य रहेकामा २५ जना प्रतिनिधि नै बनेका छन्। बाँकी ३ सय ५१ जनालाई सहभागीका रूपमा प्रवेश दिने तयारी अन्तिम चरणमा पुगेको छ।

यससँगै बन्दसत्रमा सहभागी हुने कुल संख्या २ हजार ६ सय १३ पुग्नेछ। प्रतिनिधि कार्ड छपाइको काम पनि तीव्र गतिमा भइरहेको केन्द्रीय कार्यालयको भनाइ छ। ७० प्रतिशत कार्ड छपाइ सकिएको र आगामी २५ गतेभित्र सम्पूर्ण तयारी पूरा हुने बताइएको छ।

एमालेको ११ औं महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि व्यवस्थापनदेखि कार्ड छपाइसम्मका कार्यले तीव्र गति पकडेको छ। महाधिवेशनमा सहभागिता जनाउने ठूलो संख्याले आगामी दिनमा पार्टीभित्रका बहस र नेतृत्व छनोट प्रक्रियालाई थप चासोको विषय बनाइदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *