राजकुमार ओली बिर्तामोड,झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको छ । मेची भन्सार कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल गरी सात अर्ब ८४ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ३.१० प्रतिशतले वृद्धि भएको हो । आयात बढेसँगै यसबाट संकलन हुने राजस्व पनि २.५० प्रतिशतले बढेर तीन अर्ब ८० करोड रुपैयाँ नाघेको छ ।
हाल काँकरभिट्टा नाकाबाट भारतको सिलगढी र आसपासका डिपोबाट ट्यांकरमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रिने गरेको छ । दैनिक दर्जनौँ इन्धन ट्यांकरहरू काँकरभिट्टा हुँदै झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङसम्म आपूर्ति हुने गरेको भन्सार कार्यालयले जनाएको छ । पूर्वी पहाडी तथा हिमाली जिल्लाको मुख्य इन्धन आपूर्ति यही नाकामा निर्भर छ ।
तर सडकमार्गबाट हुने आयातमा ढुवानी लागत, समय, चुहावट, ट्राफिक जाम तथा दुर्घटनाको जोखिम उच्च रहने गरेको व्यवसायीहरूको गुनासो छ । वर्षायाममा सडक अवरुद्ध हुँदा आपूर्तिमा समस्या देखिने गरेको छ भने भारततर्फको नाकामा हुने जाँच प्रक्रियाले समेत ढुवानी ढिला हुने गरेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै भारतको सिलगढीदेखि नेपालतर्फ पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजनालाई महत्वपूर्ण रूपमा हेरिएको छ । अमलेखगञ्जसम्म सफल रूपमा सञ्चालनमा रहेको पाइपलाइनको अनुभवका आधारमा पूर्वी नेपालसम्म पाइपलाइन विस्तार भएमा इन्धन आपूर्तिमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ ।
पाइपलाइन विस्तारपछि ढुवानी लागत उल्लेख्य रूपमा घट्ने, आपूर्ति नियमित र सुरक्षित हुने तथा चुहावट नियन्त्रणमा आउने जानकारहरूको भनाइ छ । सडकमार्गमा निर्भरता घट्दा वातावरणीय प्रदूषण कम हुने र सवारी चापसमेत घट्ने विश्वास गरिएको छ । साथै, इन्धन आपूर्तिमा हुने अनियमितता र कृत्रिम अभावको समस्या पनि न्यून हुने अपेक्षा छ ।
पूर्वीनाकाबाट हुने बढ्दो आयात र राजस्व संकलनले पूर्वी नेपालमा इन्धनको माग उच्च रहेको संकेत गर्छ । दीर्घकालीन रूपमा पाइपलाइन विस्तार जस्ता संरचनागत सुधार भएमा पूर्वी क्षेत्रको औद्योगिक विकास, यातायात र सेवा क्षेत्रमा थप सहजता आउने देखिन्छ । सरकार र सरोकारवाला निकायबीच समन्वय बढाउँदै समयमै पूर्वी नेपालसम्म पाइपलाइन विस्तार गर्न सके इन्धन आपूर्तिमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ ।





