राजकुमार ओली,८ पुष: काठमाडौँ ।
तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र बेलायतस्थित ‘द ड्युक अफ एडिनबर्ग इन्टरनेसनल अवार्ड फाउन्डेसन’बीच अन्तर्राष्ट्रिय साझेदारी स्थापित भएको छ ।
विद्यालयले विश्वस्तरीय शिक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित उक्त फाउन्डेसनसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्रमा तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलका तर्फबाट एकेडेमिक डाइरेक्टर पिटर इग्नासियस जोसेफ तथा ‘द ड्युक अफ एडिनबर्ग इन्टरनेसनल अवार्ड’का तर्फबाट नेसनल चेयर देव राज घिमिरेले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतासँगै तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले उक्त अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम सञ्चालन गर्न औपचारिक मान्यता प्राप्त गरेको छ । विद्यालयका अनुसार यसले समग्र तथा अन्तर्राष्ट्रिय स्तरसँग समन्वित शिक्षाप्रणालीप्रति विद्यालयको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको छ । बेलायतको शाही संरक्षणमा स्थापना भई हाल विश्वका १३० भन्दा बढी देशमा सञ्चालनमा रहेको ‘द ड्युक अफ एडिनबर्ग इन्टरनेसनल अवार्ड’ कार्यक्रम विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रममध्ये एक मानिन्छ ।
समय र अनुभवमा आधारित सिकाइमा केन्द्रित उक्त कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मअनुशासन, सहनशीलता, टोलीगत कार्यक्षमता, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विद्यालयको विश्वास छ । साथै, यस कार्यक्रमले विद्यार्थीलाई वास्तविक जीवनका चुनौती सामना गर्न, उच्च शिक्षा हासिल गर्न तथा अन्तर्राष्ट्रिय करिअरका लागि सक्षम बनाउने लक्ष्य राखेको छ ।
संस्थागत रूपमा यस अवार्ड कार्यक्रमले विद्यालयको अन्तर्राष्ट्रिय पहिचान र विश्वसनीयता अभिवृद्धि गर्नुका साथै विद्यालयलाई विश्वस्तरीय शिक्षा मापदण्डसँग थप नजिक ल्याउने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूको चरित्र विकासलाई सुदृढ गर्दै विश्वविद्यालय भर्ना तथा करिअर मार्गमा उनीहरूको मूल्यलाई थप उचाइ दिने जनाइएको छ ।
कार्यक्रम सीप विकास, शारीरिक गतिविधि, सामुदायिक सेवा तथा साहसिक यात्राजस्ता चार प्रमुख खण्डमा आधारित छ । यी गतिविधिमार्फत विद्यार्थीको सीप, स्वास्थ्य, सामाजिक सहभागिता र नेतृत्व क्षमताको सन्तुलित विकास सुनिश्चित गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रम अन्तर्गत प्रदान गरिने अन्तर्राष्ट्रिय प्रमाणपत्र बेलायतस्थित ‘द ड्युक अफ एडिनबर्ग इन्टरनेसनल अवार्ड फाउन्डेसन’द्वारा जारी गरिनेछ, जसलाई विश्वभरका विश्वविद्यालय तथा रोजगारदाताले व्यापक रूपमा मान्यता दिएका छन् ।
जिम्मेवार, सक्षम र विश्व नागरिक उत्पादन गर्ने विद्यालयको दीर्घकालीन लक्ष्यअनुरूप यो साझेदारीले विद्यार्थीलाई आत्मविश्वासी नेता तथा सक्रिय विश्व नागरिकका रूपमा विकास गर्न प्रेरित गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।





