सुरुङ्गा प्रहरी कार्यालयलाइ गर्‍यो कन्काई नगरपालिकाले गाडी हस्तानतरण

झापा, ८ पुस ।
शान्ति–सुरक्षालाई मध्यनजर गर्दै झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई एक थान सरकारी गाडी उपलब्ध गराएको छ ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाको गाडी आगजनीमा परेर नष्ट भएपछि उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राखी नगरपालिकाले उक्त गाडी हस्तान्तरण गरेको हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको गाडी सोमबार नगर परिसरबाट औपचारिक रूपमा प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
गाडी हस्तान्तरण कार्यक्रममा नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले शान्ति–सुरक्षा नागरिकको पहिलो आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकार प्रहरीसँग सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले कनकाई नगर क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउनु साझा दायित्व भएको र कठिन परिस्थितिमा खटिने सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताउनुभयो । यस गाडीले प्रहरीको गस्ती तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख पोखरेलले यसअघि पनि प्रहरीलाई सवारी साधन तथा आवश्यक इन्धन उपलब्ध गराउँदै आएको उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा सवारी साधन जलेर नष्ट भएपछि पुनः सवारी उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले नगरका भौतिक संरचना र सवारी साधन सबै नागरिकको साझा सम्पत्ति भएकाले तिनको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गानाले सवारी साधनको अभावमा कार्यसम्पादनमा कठिनाइ भइरहेको अवस्थामा नगरपालिकाले समस्या बुझेर सवारी उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यसले प्रहरीको दैनिक कार्यसम्पादन र शान्ति–सुरक्षा व्यवस्थापनमा सहजता ल्याउने बताउनुभयो ।
सवारी हस्तान्तरण कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array