ठूलो परिमाणमा जङ्गली बदेल र दुम्सीको मासु बरामद

काठमाडौँ

डिभिजन वन कार्यालय नवलपुरले ठूलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणी गाउँपालिका–स्थित दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा उक्त मासु बरामद गरिएको जनाएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी शुभास अधिकारीका अनुसार बागमती प्रदेश ०१–०२३ च ४३५४ नम्बरको एसी जडित पिकअप भ्यानबाट जङ्गली बँदेलको जस्तो देखिने एक हजार ६१ किलो, जङ्गली दुम्सीको जस्तो देखिने २२ किलो तथा १० किलो माछा बरामद गरिएको हो ।
उहाँका अनुसार दुम्कीबासको जङ्गली क्षेत्रमा सवारी साधन छाडेर चालक फरार भएका छन् । बरामद गरिएको मासुको यकिन पहिचानका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रयोगशालाबाट प्राप्त हुने प्रतिवेदनका आधारमा मात्र वन तथा वन्यजन्तु संरक्षण ऐनअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । घटना करिब एक हप्ता अघिको भए पनि आज मात्र सार्वजनिक गरिएको हो ।
बरामद गरिएको सवारी साधन एसएस मिट मार्ट सप्लायर प्रालिको रहेको जनाइएको छ । उक्त मिट मार्टका सप्लायर बाला क्षेत्रीले भने घरपालुवा बंगुरको मासु ल्याउँदै गर्दा कसैले सुराकी दिएको आधारमा पक्राउ गरिएको दाबी गर्नुभयो । उहाँले सवारी साधनका चालक हालसम्म सम्पर्कमा नआएकाले चालककै बदमासी हुन सक्ने बताउनुभयो ।
डिभिजन वन कार्यालयले फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array