✍️ राजकुमार ओली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । आइतबार पुस १३ गते बिहान भएको सहमतिपत्रमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने र मेयर शाहले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिह्न घण्टी कायम रहने भएको छ । पार्टीको केन्द्रीय सभापतिको जिम्मेवारी रवि लामिछानेले सम्हाल्नेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।
सहमतिपत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिने उल्लेख गरिएको छ । साथै आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
एकतापछि मुलुकको समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारहरू अघि बढाइने सहमतिमा उल्लेख छ । आर्थिक तथा सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सहमतिअनुसार राजनीतिक दलको झण्डा साविककै निलो पृष्ठभूमिमा मध्यभागमा सेतो रङ्गको गोलाकार भित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्रै रहने पनि सहमतिमा उल्लेख गरिएको छ ।
बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने जनाइएको छ । यसका लागि युवा अभियन्ता, प्राविधिक जनशक्ति तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने सहमति भएको छ ।
सहमतिपत्रअनुसार एकीकरणसँग सम्बन्धित राष्ट्रिय स्वतन्त्र पार्टीका आवश्यक दस्तावेजहरू निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । एकताले वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउने र जनआकांक्षाअनुसारको राजनीतिक अभ्यास अघि बढाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।





