काठमाडौँ, १४ पुस

। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्ध ऐन, २०७७ को दफा २२ बमोजिम गठन हुने विषयगत समितिको सदस्य पदमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिं गोम्देन मनोनयन भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी नीति तथा योजना कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित गठन हुने उक्त समितिमा देशभरका स्थानीय तहका प्रमुखहरूमध्येबाट माननीय मन्त्रीस्तरीय निर्णय अनुसार नगर प्रमुख गोम्देनलाई सदस्यमा मनोनयन गरिएको हो।
उक्त विषयगत समिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको अध्यक्षतामा गठन हुने व्यवस्था छ। समितिले सम्बन्धित विषयको कार्यक्षेत्र रहने मन्त्रालय तथा स्थानीय तहसँग समन्वय गर्दै नीति निर्माण, योजना कार्यान्वयन र विकास निर्माणका कार्यमा प्रभावकारिता अभिवृद्धि गर्ने जिम्मेवारी पाउनेछ।
नगर प्रमुख गोम्देन विषयगत समितिको सदस्यमा मनोनयन भएपछि अर्जुनधारा नगरपालिकाले खुशी व्यक्त गर्दै सफल र रचनात्मक कार्यकालको कामना गरेको छ। नगरपालिकाले संघ र प्रदेशसँगको समन्वय थप मजबुत भई स्थानीय तहका समस्या, आवश्यकता र विकासका मुद्दा राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरेको छ।
समितिमा नगर प्रमुख गोम्देनको सहभागिताले स्थानीय तहको आवाज नीति निर्माण तहसम्म पुग्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी कार्यक्रमहरू कार्यान्वयनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *