ताप्लेजुङ, नेकपा (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुनःस्थापना लगायतका संवैधानिक प्रक्रियासम्बन्धी मुद्दाको शीघ्र निरुपण आवश्यक रहेको बताएका छन् ।
संवैधानिक विषयको निरुपणमा ढिलाइ हुँदा थप जटिलता उत्पन्न हुनसक्ने उल्लेख गर्दै उनले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइप्रति संशय व्यक्त गरे । ११औँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले प्रेस चौतारी ताप्लेजुङद्वारा फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधान र लोकतन्त्र पुनःस्थापित गर्न एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने नीति लिएको बताए ।
संविधानलाई जीवित राख्न, लोकतन्त्रलाई प्राण दिन र यसको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य रहेको उल्लेख गर्दै उनले संसद पुनःस्थापनासम्बन्धी मुद्दाको शीघ्र निरुपणमा अदालतले गम्भीरता देखाउनुपर्नेमा जोड दिए । संसद पुनःस्थापना नभए मुलुक फागुन २१ गते हुने निर्वाचनतर्फ केन्द्रित हुने उनको भनाइ थियो ।
भट्टराईले एमाले ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस भए पनि सर्वसम्मत रूपमा एक जनालाई उम्मेदवार बनाइने र बाँकीले पार्टी जिताउन कमाण्डरको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । ‘पहिले पार्टी, दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुन्छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गते भएका घटनामा बाह्य शक्तिको प्रभाव रहेको आरोप लगाए । उनले बालेन्द्र शाहप्रति लक्षित ‘सिंहदरबार जलाउने’ अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेपाली जनताले सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनजस्ता राष्ट्रिय धरोहर जलाएर देशलाई खरानी बनाउने कार्य कहिल्यै नबिर्सने बताए ।
युवाका मुद्दा साझा भए पनि आन्दोलन भड्काएर मुलुकलाई तहसनहस बनाउन खोज्नेहरू जनताका सच्चा प्रतिनिधि हुन नसक्ने थेबेको दाबी थियो । उनले पनि पार्टीबाट सिफारिस भएका पाँचमध्ये एक जना उम्मेदवार र अन्यले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनुपर्ने धारणा व्यक्त गरे ।





