नेकपा एमालेको मोरङमा ४३ जना उम्मेदवार, बस्नेत ढकाल र खतिवडाको बलियो चर्चा

राजकुमार ओली,विराटनगर, २०पुष(पूर्व खबर)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) मोरङले उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएको छ।

जिल्लाका छवटै निर्वाचन क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्षतर्फ ४३ जनाको नाम सिफारिस गरेसँगै एमालेको आन्तरिक प्रतिस्पर्धा र संगठनात्मक सक्रियता दुवै स्पष्ट देखिएको छ।

क्षेत्रीय कमिटीहरूले कुनै पनि निर्वाचन क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्न नसकेका छन्। प्रत्येक क्षेत्रमा तीनदेखि १६ जनासम्म आकांक्षीको नाम सिफारिस गरिएको छ। यसले मोरङमा एमालेभित्र उम्मेदवार बन्ने आकांक्षा व्यापक रहेको र पार्टीभित्र प्रतिस्पर्धा चर्किएको संकेत गर्छ।
एमाले मोरङका नेताहरूका अनुसार सिफारिस प्रक्रिया केवल नाम पठाउने औपचारिकता नभई संगठनलाई निर्वाचनमा परिचालन गर्ने अभियानको एउटा महत्वपूर्ण चरण हो। “उम्मेदवार चयन अन्तिम निर्णय होइन, यो त पार्टीलाई चुनावी अभियानमा लैजाने प्रारम्भिक कदम हो,” एक नेताले भने।
सिफारिस सूचीमा नेता विनोद ढकालको नाम तीन निर्वाचन क्षेत्र—मोरङ १, ४ र ६ बाट परेको छ। यस्तै, पूर्व सांसद भानुभक्त ढकाल र परशुराम बस्नेतजस्ता नेताहरू पनि फरक–फरक क्षेत्रबाट चर्चामा छन्। उनीहरूको सक्रियता एमालेको संगठन विस्तार र अभियानलाई गति दिन केन्द्रित रहेको पार्टी नेताहरू बताउँछन्।
मोरङ–१ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडासहित विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्लीशर्मा अधिकारी र भूपाल जिमीको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा १५ जनाले आकांक्षा देखाए पनि छ जनाको नाम मात्र सिफारिस गरिएको हो। घनश्याम खतिवडालाई संगठन निर्माणमा अनुभवी नेताका रूपमा हेरिएको छ भने उनी मोरङमा पार्टीको सांगठनिक अनुशासन र अभियान समन्वयमा अग्रपंक्तिमा छन्।
मोरङ–२ मा गत निर्वाचनमा एमालेले एक मात्र जित हात पारेको भए पनि यसपटक पनि एकल उम्मेदवार टुंग्याउन नसकिएको छ। निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रलाई एमालेले प्रतिष्ठाको लडाइँका रूपमा लिएको छ।
मोरङ–३ बाट सबैभन्दा धेरै १६ जनाको नाम सिफारिस गरिएको छ। यसमा पूर्व सांसद भानुभक्त ढकाल, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाईंलगायत नेताहरू छन्। भानुभक्त ढकाललाई पार्टीका अनुभवी र जनाधार भएका नेताका रूपमा लिइन्छ। उनी पछिल्लो समय संगठन विस्तार, कार्यकर्ता भेटघाट र अभियान केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन्।
मोरङ–४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेतलगायत नौ जनाको नाम सिफारिस गरिएको छ। मोरङ–५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादवलगायत छ जनाको नाम आएको छ भने मोरङ–६ बाट पूर्व सांसद लालबाबु पण्डित, परशुराम बस्नेत, सत्यनारायण चौधरीलगायत छ जनाको नाम सिफारिस गरिएको छ।
परशुराम बस्नेतलाई मोरङ–६ मा संगठन मजबुत बनाउने नेताका रूपमा चिनिन्छ। पार्टी स्रोतका अनुसार उनी उम्मेदवार बन्ने वा नबन्ने भन्दा पनि “पहिले पार्टी, पछि व्यक्ति” भन्ने नारासहित अभियानमा केन्द्रित छन्। “उम्मेदवार जो भए पनि एमाले जिताउनुपर्छ भन्ने बुझाइ छ,” बस्नेत निकट नेताहरू बताउँछन्।
एमाले मोरङका नेताहरूका अनुसार उम्मेदवार चयनभन्दा पनि अहिलेको प्राथमिकता संगठनलाई एकढिक्का बनाएर चुनावी अभियानमा उतार्नु हो। क्षेत्रीय कमिटीबाट आएका नाम जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्रीय कमिटीमा पुग्नेछन्। अन्तिम निर्णय केन्द्रीय नेतृत्वले गर्नेछ।
पार्टीले मोरङमा यसपटक ‘संगठन, अनुशासन र सामूहिक अभियान’लाई मुख्य आधार बनाएको छ। भानुभक्त ढकाल, परशुराम बस्नेत र घनश्याम खतिवडाजस्ता नेताहरूको सक्रियता यही अभियान केन्द्रित रहेको नेताहरूको भनाइ छ।
एमाले नेताहरू भन्छन्—मोरङमा उम्मेदवार एक जना भए पनि अभियान सबैको हुनेछ। यही रणनीतिका साथ एमालेले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै संगठन परिचालन, कार्यकर्ता प्रशिक्षण र जनसम्पर्क अभियानलाई तीव्र बनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *