राजकुमार ओली, २०पुष ,मेचीनगर,(पूर्व खबर)
मेचीनगर–१४ स्थित श्री बालसुबोधनी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सचेतनामूलक काउन्सेलिङ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक विश्व थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका ८३ जना विद्यार्थी सहभागी थिए। कार्यक्रममा विद्यार्थीहरूको मानसिक स्वास्थ्य, किशोरावस्थाका चुनौती, तनाव व्यवस्थापन, करिअर सोच तथा जोखिम न्यूनीकरणका विषयमा केन्द्रित रहेर काउन्सेलिङ गरिएको थियो।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी अधिकृत फेमिली काउन्सिलर तथा मनोविद् सरस्वती मिश्र ओलीले किशोर–किशोरी अवस्थामा देखिने मानसिक दबाब, आत्मविश्वास अभाव, परीक्षा तनाव र सामाजिक प्रभावबारे जानकारी दिँदै समयमै काउन्सेलिङ र संवादको आवश्यकता औँल्याइन्।
“यस्ता किसिमका काउन्सेलिङ कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुनुका साथै सम्भावित जोखिम कम गर्न सजिलो हुन्छ,” उनले भनिन्।
कार्यक्रममा अधिकृत रोजगार परामर्शकर्ता फडिन्द्र दाहालले अध्ययनपछि रोजगारी, सीप विकास र भविष्यको योजनाबारे विद्यार्थीलाई अभिमुखीकरण गरेका थिए भने सामाजिक परिचालक अञ्जु खरेल खड्काले सामाजिक व्यवहार, पारिवारिक सम्बन्ध र आत्मअनुशासनका विषयमा सहजीकरण गरेकी थिइन्।
कार्यक्रमपछि विद्यार्थीहरूले प्राप्त गरेको सिकाइ उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक मानिने बालसुबोधनी माविमा यस्ता कार्यक्रमले विद्यार्थीलाई मानसिक रूपमा सबल बनाउने विश्वास व्यक्त गरिएको छ। बाल क्लबकी अध्यक्ष नम्रता खड्काले कार्यक्रमले आफूहरूलाई आफ्नो भावना बुझ्न, समस्या खुलेर व्यक्त गर्न र आत्मविश्वास बढाउन सहयोग पुगेको बताइन्।
विद्यालयका प्रधानाध्यापक विश्व थापाले विद्यार्थीको शैक्षिक प्रगतिसँगै मानसिक स्वास्थ्य सुदृढ हुनु अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता काउन्सेलिङ कार्यक्रमले सिकाइ वातावरण सकारात्मक हुने बताए।
“विद्यार्थीको मनोबल उच्च राख्न काउन्सेलिङ अत्यन्त आवश्यक छ,” उनले भने।
मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलका अनुसार नगरपालिकाले विद्यालयस्तरमै मानसिक स्वास्थ्य, बाल संरक्षण र मनोसामाजिक सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
“विद्यार्थीको मानसिक स्वास्थ्य सुदृढ भए मात्र दीर्घकालीन सामाजिक विकास सम्भव हुन्छ,” उनले भनिन्, “यसका लागि विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ।” मेचीनगर नगरपालिकाले आफ्ना १५ वटा वडाका सबै विद्यालयमा यस्ता किसिमका कार्यक्रमलाई महत्वपूर्ण स्थान दिएर सहजीकरण गरिरहेको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले पूर्व खबरलाई बताइन्। नगरपालिकाले आगामी दिनमा मेचीनगरका अन्य विद्यालयहरूमा पनि यस्ता काउन्सेलिङ तथा अभिमुखीकरण कार्यक्रम विस्तार गर्ने तयारी गरेको जनाएको छ। शिक्षाका लागि राष्ट्रिय अभियानले समेत मेचीनगरका विद्यालयहरूमा यस्ता अभियान चालु गर्न र विद्यालय स्तरमा गरिने कार्यक्रमले उनीहरूको मनोबल उच्च पार्न सहयोग गर्ने गरेकोले आफूहरूको अभियानमा साथ दिन अपिल गरेको केन्द्रीय अध्यक्ष लवराज ओलीले बताए.। अभियानले नेपालभरिका विद्यालयहरूमा यस्ता किसिमका सिकाइहरूमा सहयोग गर्दै आएको र झापाका बिर्तामोड मेचीनगर दमक भद्रपुर अर्जुनधारा लगायतका पालिकाहरूमा समेत अभियान अघि बढाउन पहल सुरु गरेको प्रचार विभागका राजकुमार ओलीले बताएका छन्। 
पछिल्लो समय कोभिड महामारी पछि देखापरेका विभिन्न किसिमका समस्याहरुमा बालबालिकाहरूको जोखिमलाई नेपाल सरकार र शिक्षा मन्त्रालयले समेत गम्भीर रुपमा ध्यान दिएको देखिएको छ।
