राजकुमार ओली बिर्तामोड
। संकटका घडीमा सरकारी संयन्त्रभन्दा अघि नागरिकको ढोका ढकढक्याउने नाम बनेको छ— ‘एकका लागि एक अभियान’। झापाबाट सुरु भएको यो अभियानले सामाजिक एकता, पारदर्शिता र स्वयंसेवाको बलमा कसरी ठूला सामाजिक परियोजना सम्भव हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै आएको छ। यही योगदानको कदरस्वरूप अभियानले विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ३७ जना व्यक्तित्वलाई आइतबार सम्मान गरेको छ।
सम्मान कार्यक्रम केवल व्यक्तिलाई कदर गर्ने औपचारिक कार्यक्रम मात्र थिएन, बरु अभियान कसरी काम गर्छ, किन प्रभावकारी छ र कसरी संकट व्यवस्थापनमा सफल मोडल बनेको छ भन्ने सन्देश दिने अवसर पनि बन्यो। सम्मान सिफारिस समितिका संयोजक तथा अभियानका परिकल्पनाकार महेन्द्रकुमार गिरीले तयार पारेको प्रतिवेदनका आधारमा सम्मानित व्यक्तिहरू छनोट गरिएको हो।
‘एकका लागि एक अभियान’को कार्यशैली सरल तर प्रभावकारी छ। “एक थुकी सुकी, सय थुकी नदी” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अभियानले हरेक नागरिकलाई सानो योगदानमार्फत ठूलो परिवर्तनको साझेदार बनाएको छ। रु. १ देखि लाखौँ रुपैयाँसम्म स्वेच्छिक सहयोग गर्ने करिब १ लाखभन्दा बढी दाताको सहभागिताले यो अभियानलाई जनआन्दोलनको स्वरूप दिएको छ।
कोरोना महामारीका बेला अभियानको प्रभावकारिता सबैभन्दा स्पष्ट रूपमा देखिएको थियो। झापाको कन्काईमा पीसीआर ल्याब स्थापना गर्न अभियानले जनस्तरबाट रु. १ करोड १५ लाखभन्दा बढी रकम संकलन गरी सरकारलाई हस्तान्तरण गर्यो। यसले जिल्लाका हजारौँ नागरिकलाई सहज परीक्षण सेवामा पहुँच पुर्यायो। त्यस्तै, कोरोनाको दोस्रो लहरमा अक्सिजनको चरम अभाव हुँदा अभियानले रु. १ करोड २० लाखको लागतमा अक्सिजन बैंक स्थापना गरी सयौँ बिरामीको ज्यान जोगाउन योगदान पुर्यायो।
अभियान केवल स्वास्थ्य संकटमा मात्र सीमित रहेन। कोरोनाका पहिलो र दोस्रो लहरमा झापाका करिब २५ हजारभन्दा बढी अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्दै मानवीय संकटलाई न्यूनिकरण गर्न सक्रिय भूमिका खेल्यो। विपद् आउनुअघि तयारी र विपद्पछिको तत्काल राहत अभियानको अर्को विशेषता बनेको छ।
भर्खरैको मनसुनी विपद्का बेला झापाका गौरीगञ्ज, झापा गाउँपालिका र शिवसताक्षी क्षेत्रमा बाढीले जनजीवन प्रभावित हुँदा अभियानले रु. ५० लाख बराबरको राहत सामग्री तत्काल वितरण गर्यो। सरकारी राहत प्रक्रिया कागजी र समयसापेक्ष भइरहँदा अभियानका स्वयंसेवकहरू भने पीडितको आँगनमा खाद्यान्न, सरसफाइ सामग्री र लत्ताकपडासहित पुगिसकेका थिए। यही तत्परताले अभियानप्रति नागरिकको भरोसा अझ गहिरो बनाएको छ।
अहिले अभियान रु. ५ करोडको दिगो विपद् कोष निर्माण गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ, जसले भविष्यमा आउने बाढी, पहिरो, आगलागी जस्ता विपत्तिमा तत्काल हस्तक्षेप गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। सहकारी संस्था, निजी व्यवसायी र अन्तर्राष्ट्रिय झापाली समाजसँगको सहकार्यले अभियानको स्रोत र सञ्जाल दुवै मजबुत बनेको छ।
सम्मान कार्यक्रममा नेपाल सरकारका सहसचिव तथा झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत प्रशासन, स्वास्थ्य, सामाजिक सेवा र विपद् व्यवस्थापन क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू सम्मानित भएका छन्। अभियानका अनुसार सम्मानको उद्देश्य केवल पदक वा दोसल्ला प्रदान गर्नु होइन, समाजका लागि निःस्वार्थ योगदान गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
अभियानका परिकल्पनाकार गिरीका अनुसार, ‘एकका लागि एक अभियान’ कुनै संस्था मात्र होइन, झापालीहरूको एकताको प्रतीक हो। “हरेक नागरिकले आफ्नो एक छाक कटाएर वा आम्दानीको सानो अंश बाँडेर पनि ठूलो सामाजिक परिवर्तन सम्भव छ भन्ने विश्वास नै हाम्रो शक्ति हो,” उनले भने।
झापाबाट सुरु भएको यो अभियान अहिले अन्य जिल्लाका लागि पनि संकट व्यवस्थापन र नागरिक सहभागिताको सफल मोडलका रूपमा हेरिन थालेको छ। सम्मान कार्यक्रमले यही सन्देश पुनः पुष्टि गरेको छ— जब नागरिक एकजुट हुन्छन्, तब संकट पनि अवसरमा रूपान्तरण हुन सक्छ।
