झापा, २१ पुस ।
झापाको सदरमुकाम भद्रपुरमा आर्थिक गतिविधि पुनःचलायमान बनाउने उद्देश्यसहित आगामी माघ पहिलो हप्तादेखि ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ । पछिल्लो समय बजार सुस्ताउँदै गएको, उद्योगी–व्यवसायीको मनोबल खस्किँदै गएको र स्थानीय अर्थतन्त्रमा देखिएको जडतालाई चिर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
झापा उद्योग वाणिज्य संघको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशालामा माघ ७ गतेदेखि २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि भद्रपुरसहित जिल्लाको व्यापारिक वातावरणमा परेको नकारात्मक असरलाई मध्यनजर गर्दै व्यवसायिक गतिविधिलाई पुनर्जीवित गर्न महोत्सव आवश्यक देखिएको संघले जनाएको छ ।
आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुलीका अनुसार महोत्सवले सुस्ताउँदै गएको भद्रपुर बजारलाई गति दिनेछ । “झापामा उत्पादन हुने वस्तुको प्रवर्द्धन, स्थानीय उद्योग–व्यवसायलाई प्लेटफर्म प्रदान गर्ने र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने अवसर महोत्सवले दिन्छ,” उनले भने । महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार हुने र एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवमा घरेलु, औद्योगिक, कृषि, पर्यटन तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवासहित करिब एक सय स्टल रहनेछन् । यसले साना तथा मझौला उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन र बजार विस्तारको अवसर दिने विश्वास गरिएको छ । साथै, कृषि तथा पर्यटन क्षेत्रलाई जोडेर जिल्लाको आर्थिक आधार मजबुत बनाउने अपेक्षा गरिएको छ ।
झापा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार राईले व्यापार तथा औद्योगिकीकरणको प्रवर्द्धन, उद्यमीको हित–अधिकारको संरक्षण र बलियो अर्थतन्त्र निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । उनले संघले यसअघि २०७३ फागुनमा आयोजना गरेको ‘प्रथम पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ सफल भएकाले यसपटक पनि सकारात्मक नतिजाको अपेक्षा गरिएको बताए ।
२०१६ सालमा मिल्स मर्चेन्ट एशोसिएशनका रूपमा स्थापना भएको संस्था हाल झापा उद्योग वाणिज्य संघका रूपमा जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहँदै आएको छ । आयोजकका अनुसार भद्रपुर नगरपालिका, जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाको सहकार्यमा आयोजना हुने महोत्सवले भद्रपुर र झापाको समग्र आर्थिक उत्थानमा टेवा पुर्याउनेछ ।





