काठमाडौं, पुस २२। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ।

उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ।

बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। २०७९ को निर्वाचनमा भने कांग्रेस-माओवादी गठबन्धनसँग पराजित हुनुभएको थियो ।

जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गर्नुभएको थियो। बस्नेत सक्रिय रूपमा सडक र राजनीतिक गतिविधिमा उत्रिएपछि एमालेका अन्य नेता तथा अन्य राजनीतिक दलहरू पनि क्रमशः सार्वजनिक रूपमा सक्रिय बनेका थिए।

यसैबिच, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ। बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसक्नुभएको छ।

एकल नाम सिफारिस भएकोले यी निर्वाचन क्षेत्रबाट उहाँहरू चुनाव लड्ने करिब निश्चित भएको छ । तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *